झापा । अर्जुनधारा ८ नम्बर वडा कार्यालयले अव्यवस्थित, मापदण्डविपरीत अवैधरुपमा व्यवसाय सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई कानुनी दायरामा ल्याउन सूचना जारी गरेसँगै नगर प्रहरीले बुधबार भारतीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
अर्जुनधारा ८ नम्बर वडा कार्यालयले वडामा सञ्चालित व्यवसायलाई एकरुपता दिनका लागि नियमन गर्ने सूचना जारी गरेको थियो । यसैबीच, सिरक डसना बनाउने भारतीय नागरिकहरुलाई ट्याक्टर र मेसिनसहित नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
गैरकानुनीरुपमा ट्याक्टरमा मेसिन जडान गरी सिरक डसना बनाउनेको संख्या बढ्न थालेपछि वडा कार्यालयले व्यावसायिक करको दायरामा ल्याउन सुरु गरेको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालयले वडाभित्र व्यवसाय गर्दा आवश्यक कागजातसहित व्यवसाय दर्ता गर्न आह्वान गरेको थियो । दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नपाइने सूचना जारी गर्दा पनि विभिन्न स्थानमा ट्याक्टरसहित फेला पारेको उनले बताए ।
जथाभावी व्यवसाय गर्दा स्थानीय व्यवसायी मारमा परिरहेको बेला कानुनी दायरामा ल्याउन पनि वडाले अभियान सुरु गरेको वडाध्यक्ष उप्रेतीले बताए । परिचय खुल्ने कुनै कागजात नहुँदा स्थानीय बासिन्दा ठगिने, फेरि वडामा गुनासो आउने भएकाले कानुनी दायरामा ल्याउनका लागि यो कदम चालिएको उनको भनाइ छ ।
उनका अनुसार नगरपालिका शनिश्चरे बजार सौन्दर्यकरणका लागि अघि बढिरहेको समयमा बजार व्यवस्थापन गर्न, व्यवसायीलाई एकरुपता दिन र स्थानीय व्यापारीसरह अधिकार मिल्नेगरी कानुनी दायरामा ल्याउन लागिएको हो ।
नगर प्रहरीले पहिलोपटक फेला पारेका ६ वटा सवारीसाधनसहित भारतीय नागरिकलाई व्यावसायिक विषयमा सम्झाइएको, व्यवसाय सञ्चालनका लागि नगरपालिकाको मापदण्डबारे जानकारी गराइ एक पटकलाई छाडिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।
सिरक डसना व्यवसायीलाई मात्र नभएर अव्यवस्थितरुपमा घुमन्ते, फिरन्ते व्यवसाय गर्दै आएका सबैलाई वडा कार्यालयले नियमन गर्दै कानुनीरुपमा कारोबार गर्ने वातावरण बनाउने उद्देश्यले वडा कार्यालय अघि बढेको उनको भनाइ छ ।
नियन्त्रणमा परेका भारतीय नागरिकका अनुसार अर्जुनधारा नगरपालिका क्षेत्रभित्र कम्तिमा ५० जनाभन्दा बढी सिरक डसनाका व्यवसायी रहेका छन् । उनीहरुले पनि ट्याक्टरमा मेसिन जडान गरेरै व्यवसाय गर्ने गर्छन् ।
यसैबीच, उनीहरुले कानुनविपरीत ट्याक्टरमा मेसिन जडान गरेको, प्रयोग गर्दै गरेको सवारीसाधनको कागजात नभएको, सवारी चालकको अनुमतिपत्र नभएको र राजश्व नबुझाएको फेला परेको अस्थायी ट्राफिक प्रहरी कार्यालय शनिश्चरेले जनाएको छ ।
प्रतिक्रिया