झापा । मोटरसाइकलको हेण्डिलमा प्वाल पारेर लागु औषध ब्राउन सुगर ल्याउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका ५ निवासी ३२ वर्षीय भूपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनीहरूलाई बिहीबार साँझ ६ बजे मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकी बजारबाट नेपालतर्फ आउँदै गरेको को १४ प ४७६१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको हेण्डिलको बायाँ साइडको प्वालमा कालो रङ्गको प्लास्टिकभित्र राखिएको ब्राउन सुगर फेला परेको थियो ।
यता पक्राउ परेका मोटरसाइकल चालक भूपाल र पछाडि सवार सिजनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए ।
प्रतिक्रिया