नेपाली राजनीतिमा गठबन्धन बन्ने र भत्किने खेल विगत ३० वर्षदेखि जारी छ । २०५१ सालबाट सुरु भएको अप्राकृतिक गठवन्धन बनाउने राजनीतिको यो चाकाचुली अझै चलिरहेको छ ।
यसको पछिल्लो सिलसिलामा ०७९ पुस १० गते र ०७९ फागुन १२ गतेलाई बुझ्न सकिन्छ । यो चाकाचुलीको खेल हेर्न निकै रोचक छ । निरन्तर बार्ता, अनेकौं षडयन्त्र, लिखित अलिखित सम्झौता, सरकार गठन, विघटन ।
कहिले एमालेको हात माथि, कहिले कांग्रेसको । कहिले कम्युनिष्टहरुको एकता, फेरि विभाजन । कहिले गणतन्त्रवादी र राजावादीहरुको सहकार्य, कहिले समाजवादी र पुजीवादीको साझेदारी । सबैकुरा चटक जस्तो । सबैकुरा तमासा जस्तो । जसका केही तत्कालिन प्रभावहरु छन् र छन् केही दीर्घकालीन प्रभावहरु ।
राजनीतिमा चासो राख्नेहरुले यस्ता प्रभावहरुलाई गम्भीरतापूर्वक विचार गर्नु आजको आवश्यकता हो ।
तत्कालीन प्रभाव
पछिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीलगायत पार्टीहरु मिलेर गठबन्धन बनाउदै निर्वाचनमा गएका थिए । भने– ओलीले प्रतिगमन गरे । केपी ओलीले दुईपटक संसद विघटन गरेपछि संविधानलाई जोगाउन बनाइएको गठबन्धनको रुपमा उनिहरुले त्यसलाई ब्याख्या गरे ।
गठबन्धनबाटै उनिहरु निर्वाचनमा होमिए । भनियो, यो गठबन्धनले संविधानको रक्षा र आन्दोलनका उपलब्धिहरुको प्रवर्दन गर्ने छ । यद्यपि एमालेले पनि आफ्नो नेतृत्वमा राष्ट्रवादी मोर्चा बनायो, जसलाई उसले तालमेल भन्यो । तालमेल वा मोर्चा जे भने पनि दुवै मोर्चाहरु अप्राकृतिक थिए । असैद्धान्तिक थिए ।
निर्वाचनमा यी गठबन्धनहरु एक अर्काप्रति नाङ्गो रुपमा खनिए । गालीगलौजको निरन्तर सिलसिला चल्यो । तर निर्वाचनमा जे जस्तो परिणाम आयो र जसरी सरकार निर्माणको अंकगणित सुरुभयो, त्यसले एमाले र माओवादीलाई एक ठाउँमा ल्यायो ।
कांग्रेसले आफ्नो नेतृत्वको लोकतान्त्रिक गठबन्धन जोगाउन सकेन । फगत सत्ताको हिसाबकिताब नमिल्दा गठबन्धनको पुरानो भाष्य चकनाचुर भयो ।
परिणाम– पुस १० गते एमाले र माओवादी सहितको नयाँ गठबन्धन बन्यो । सरकार गठन भयो । प्रदेशमा पनि आमरुपमा यही गठबन्धन अन्तर्गत सरकार बने । यद्यपि कांग्रेसले जब सरकारलाई विश्वासको मत दियो, आशंका सुरु भयो । अर्को खल सुरु भयो । र, जब राष्ट्रपति निर्वाचनो कुरा आयो, षडयन्त्रले काम गर्न थाल्यो ।
विशेषतः कालान्तरमा एमालेले सरकारलाई अप्ठ्यारो पर्ने हिसाबकिताबमा प्रचण्डहरु पुगे । एमाले प्रतिको अविश्वास र सत्ताको भागवण्डाले काम गर्न थाल्यो । परिणाम– पुस १० गतेको सत्ता गठबन्धन दुई महिना पनि टिकेन र फागुन १२ गते एमालेलाई बाहिर पार्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत साल दलले नयाँ गठबन्धन बनाए ।
सरसर्ती हेर्दा, सत्ता राजनीतिमा चल्ने भागबण्डको पछिल्लो शृंखला सकियो । अब सायद एमाले सरकारबाट बाहिर निस्कने छ र कांग्रेसले सत्तारोहण गर्नेछ । राष्ट्रपतिमा कांग्रेसले जसलाई प्रस्ताव गर्नेछ, सात पार्टीको गठबन्धनले उनैलाई राष्ट्रपतिमा जिताउने छ ।
यसपछि सत्ता राजनीतिले आफ्नो लय समाउने छ । तर अस्वाभाविक के भने, प्रधानमन्त्रीमा गरिएको २।५ बर्ष, १।५ वर्ष र १ वर्षको भागबण्डाले राजनीतिलाई अंकगणितीय जालोबाट निकाल्ने छैन । यो अविश्वसनिय र अस्थिर हुनेछ । सायद सत्ताबाट निस्किएको एमालेले आक्रामक प्रतिपक्षको बाटो समाउने छ र पहिले जस्तै संसद र सरकारमा चर्को अवरोधको पुनरावृत्ति दोहोरिने छ ।
दुर्भाग्य उही दोहोरिने छ कि सत्ता राजनीति फेरि पनि परिणाम हिन र तदर्थ गतिमै रहने छ । सरकार त चल्ला, तर देश बन्ने जुन अपेक्षा छ, त्यसले लय समाउने छैन । आखिर सत्ता राजनीतिले मान्छेलाई दिने मात्र सरकार हो, सम्बृद्धि होइन ।
दीर्घकालीन प्रभाव
लामो समयदेखि गठबन्धको विकृत अभ्यास र सत्ता राजनीतिले नेपाली जनतालाई पटकपटक निरासा दिएको कुरा अब कुनै तथ्यले प्रमाणित गर्नु पर्दैन । यसले नेपाली राजनीतिमा केही गम्भीर नकारात्मक प्रभावहरु दिएको छ ।
पहिलो, वैचारिक राजनीतिको आधार भत्कँदै गएको छ । सबै दलहरु उस्तै हुन् र उनीहरुको ध्येय मात्र सत्ता हो भन्ने आम मनोविज्ञान निर्माण भएको छ । राजनीतिमा विचार, मुद्दा, संस्कार संस्कति र दलीय चरित्र स्खलित हँुदै जानु र सबै दलहरु उस्तै हुन् भन्ने आम मनोविज्ञान बन्नु निकै खतरनाक कुरा हो । यसले राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउँछ । यसले दल हुनुको अर्थलाई कमजोर बनाउँछ ।
दोस्रो, राजनीतिमा स्वयं प्रतिस्पर्धा गर्नेहरु बीच गठबन्धन बन्ने जुन अभ्यास हामीले गरिरहेका छौं, यसले दलहरुलाई सुध्रन प्रेरित गर्दैन । प्रतिस्पर्धात्मक मनोविज्ञानले दलहरुलाई सधैँ अझ राम्रो हुन उत्प्रेरित गर्छ । तर जब प्रतिस्पर्धात्मक मनोविज्ञान कमजोर हुन्छ, दलहरु भ्रष्ट विचारहीन र अर्थहीन हुँदै जान्छन् । दलहरु अझ राम्रो हुदै जानुपर्नेमा अझ खराब हुँदै जानु निश्चय नै राजनीतिक दुर्भाग्य हो ।
तेस्रो, अंकगणिताको सत्ता राजनीतिले भ्रष्टाचार बढाउँछ । सरकारले दीर्घकालीन योजना बनाएर काम गर्ने अवस्था सकिन्छ । सरकार र मन्त्रीहरु टिपटापे काममा केन्दित हुने प्रबृत्ति हुर्कन्छ । प्रशासन संयन्त्र सरकारप्रति उत्तरदायी हुँदैन । सबै कुरा अस्थिर र तदर्थ हुँदै जान्छ ।
चौथो र मुख्य कुरा मतदाता र आम नागरिकमा लोकतन्त्रप्रति अझ धेरै निरासा बढ्छ । राजनीतिक परिवर्तनले जब मान्छेको जीवनलाई बदल्न सक्दैन, निरासा स्वाभाविक हुन्छ । निरास नागरिक भएको देशमा धेरै कुरा गडबड हुन्छ जसलाई सुधार्न सजिलो हुँदैन ।
अन्त्यमा, राजनीति मुख्य त विचारको प्रतिस्पर्धा हो । देश र दुनियाँलाई कस्तो बनाउने भन्ने वैचारिक दृष्टिकोण, तिनै दृष्टिकोणमा आधारित एजेण्डा र त्यसलाई कार्यान्वयन गर्ने सपनाहरु नै राजनीतिलाई उत्प्रेरित गर्ने मुख्य आधार हुन् ।
नेपालमा विगत ३० वर्षदेखि जे जस्तो अंकगणितको राजनीति चल्दैछ, त्यसले राजनीतिलाई फगत सत्तामा जाने खेल हो र यसका लागि जेसुकै षडयन्त्र गर्दापनी हुन्छ भन्ने नकारात्मक संदेश स्थापित हुँदै गएको छ । जसले राजनीतिको गम्भीरता नास गरेको छ ।
अतः राजनीतिको गम्भीरता स्थापित गर्न चलहरुले बेलैमा आफ्नो सत्तामुखी चरित्र, अंकगणित गर्ने दैनिकी र अप्राकृतिक गठबन्धनको राजनीति माथि पुनर्विचार गरुन् । अन्यथा हामीले अरु अनेकौं वर्ष यसरी नै राजनीतिको तमासा हेरेर बिताउन पर्नेछ । तमासाको राजनीतिले परिणाम दिँदैन, यसमा सबै सचेत बनौं ।
ट्वीटर@dahalkeshab
प्रतिक्रिया