काठमाडौँ : पूर्णबहादुरको सारंगी’ प्रदर्शनको पहिलो दिन कात्तिक १५ को पहिलो शो नै हेर्न पुगेका थिए, यसका प्रमुख कलाकार विजय बराल । तर हल लगभग खालीजस्तै थियो ।
हलमा निकै कम शो पाएको आफ्नो फिल्ममा दर्शक पनि नदेखेपछि बराल निराश बने । सँगै फिल्म हेर्न गएकी बराल पत्नी प्रमिला खनालले ढाडस दिँदै भनेकी थिइन्, ‘फिल्म राम्रो बनेको छ, भोलिबाट दर्शक आउलान्, चिन्ता नलिऊ ।’
तर दोस्रो दिनदेखि झन् दुई ठूला हिन्दी फिल्म ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ पनि लाग्ने भएपछि ‘पूर्णबहादुरको सारंगी’ को मौजुदा शोज पनि कटौतीमा पर्ने जोखिम थियो ।
शुक्रबार पनि सन्तोषजनक व्यापार नभएपछि निर्माताले समेत आशा मारिसकेका थिए । तर, अचानक एक दर्शक ‘पूर्णबहादुरको सारंगी’ हेरेपछि भक्कानिएर रोएको भिडियो टिकटकमा आयो ।
छोटो समयमै उक्त भिडियो भाइरल बनेपछि भने दर्शकमा फिल्मप्रति उत्सुकता जाग्यो, बिस्तारै देशभरका सबै शोज भरिँदै गए । प्रदर्शनीको तेस्रो दिनदेखि उक्त फिल्मले आफ्ना शोज मात्रै बढाएन, दुई ठूला हिन्दी फिल्मलाई पनि बढारिदियो ।
प्रदर्शनको १० औं दिनमा ‘पूर्णबहादुरको सारंगी’ ले देशभर प्राप्त ४ सय ६५ शोज नै ‘हाउसफुल’ सहित एकैदिनमा झन्डै ३ करोड ९० लाखको कीर्तिमानी व्यापार गर्यो । निर्माता विनोद पौडेलले ‘पूर्णबहादुरको सारंगी’ ले बिहीबारसम्म १५ दिनमा २७ करोडको व्यापार गरेको बताएका छन् ।
चलचित्र विकास बोर्डको बक्सअफिस प्रणाली ‘सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम ९सीसीएमसी०’ का अनुसार पनि उक्त फिल्मले गत आइतबारसम्म ११ दिनमै ५ लाख २० हजार टिकट बिक्री गरेको थियो ।
त्यसैगरी दसैंमा रिलिज भएका दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ ले पनि आइतबार ३९ दिनसम्म बक्सअफिसबाट क्रमशः ५ लाख १९ हजार र ६ लाख ९१ हजार टिकट बेच्न सफल भएका थिए । हलको टिकट मूल्य औसत ३ सय रुपैयाँ राख्ने हो भने पनि ‘पूर्णबहादुरको सारंगी’ १३ दिनमै २० करोड ‘ग्रस कलेक्सन’ को नजिक पुगेको हो ।
जसको आक्रामक व्यापार देशभित्र मात्रै सीमित छैन, अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजिल्यान्डलगायत देशका बक्सअफिसमा समेत सनसनी मच्चाइरहेको छ । निर्माताका दाबीलाई मान्ने हो भने देश बाहिर नै ‘पूर्णबहादुरको सारंगी’ ले २० करोडमाथिको व्यापार गरिसकेको छ । दुई साता बितिसक्दा पनि यो फिल्म हेर्ने दर्शकको लर्को घटेको छैन ।
दसैं र तिहारको एक महिनाभित्र ५ नेपाली फिल्म र ७ विदेशी फिल्म प्रदर्शनमा आए । जसमा ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारंगी’ सुपरहिट भइसकेका छन् भने हलले शोज कटौती गरिदिएको झोंकमा दुई सातामा नै हलबाट उतारिएको ‘बेहुली फ्रम मेघौली’ र दुई ठूला फिल्मको चेपुवामा परेको ‘ज्वाइँसाब’ ले समेत लगानी सुरक्षित गरे ।
सीसीएमसीको तथ्यांकअनुसार, एक महिनामै ५ नेपाली फिल्मले देशभरबाट झन्डै १९ लाख टिकट बिक्री गरे । जबकि यही अवधिमा रिलिज भएका ७ विदेशी फिल्मले मात्र ३ लाखको टिकट कटाउन सके ।
वर्षभरमा जनसंख्याको ३ प्रतिशतले पनि स्वदेशी फिल्म नहेर्ने आँकडालाई तोड्दै यस पटक दसैं–तिहारको बिदामा यी फिल्म हेर्न त्यसको दोब्बर बढी दर्शक हलमा आएको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकले देखाएको छ ।
देशभरका हलको ‘रियल टाइम बक्सअफिस’ को तथ्यांक संकलन गर्ने सीसीएमसीले एक महिनामा मात्र पाँच स्वदेशी फिल्मले ६० करोड रुपैयाँ हाराहारीको व्यापार गरिसकेका छन् ।
‘हाम्रा स्वदेशी फिल्मले यस्तो छलाङ मार्लान् भन्ने विश्वास नै थिएन,’ अभिनेता बरालले भने, ‘यसरी चल्नु जादुमयी नै हो ।’ उनी विभिन्न विधाका स्वदेशी फिल्मलाई दर्शकले रुचाइदिएको बताउँछन् । भन्छन्, ‘दर्शकले फिल्ममा आफूलाई रिलेट गरे भने कसैको केही नलाग्दो रहेछ ।’
सबैभन्दा धेरै हल भएको मल्टिप्लेक्स च्यानल क्यूएफएक्सका महाप्रबन्धक तृप्ति गिरीका अनुसार पनि दसैंको दाँजोमा तिहारमा प्रदर्शनमा आएका नेपाली फिल्मले व्यावसायिक हिसाबले उच्च रेकर्ड बनाएको छ । ‘पूर्णबहादुरको सारंगी’ ले जसरी दर्शकलाई हलसम्म तान्यो, यसअघि विदेशी फिल्मले पनि यस्तो रेकर्ड कायम नगरेको हलवालाहरू बताउँछन् ।
‘अहिले पूर्णबहादुरको सारंगीको २र३ दिनपछिका शोजसमेत हाउसफुल देखिन्छन् । यस्तो अवस्था त कहिल्यै देखिएकै थिएन,’ उनले भनिन् । दसैं र तिहारमा प्रदर्शनमा आएका नेपाली फिल्महरूले क्यूएफएक्सकै इतिहासमा पनि विदेशी फिल्मले भन्दा माथिको व्यापार गरेको देखाउँछ ।
‘पूर्णबहादुरको सारंगी’ को कथामा दर्शकले आफूलाई अनुभूत गर्न पाएकै कारण पनि दर्शकको उछाल देखिएको तृप्ति बताउँछिन् । ‘घर–घरको कथाजस्तै भएको छ, यो फिल्म ।
त्यसैले एकले अर्कालाई हेर्न सल्लाह दिइरहेका छन्,’ उनले भनिन् । ‘वर्ड अफ माउथ पब्लिसिटी’ कै कारण यो फिल्ममा दर्शक उर्लिएको उनी बताउँछिन् । अहिले यो फिल्म हेर्न परिवार–परिवार नै हल आइरहेका छन् । क्यूएफएक्सको इतिहासमै सबैभन्दा धेरै दर्शक संख्या यो दसैंमा देखिएको थियो । त्यही संख्यालाई तिहारमा रिलिज भएको फिल्मले उछिनिसकेको उनी दाबी गर्छिन् ।
जनस्तरमा प्रचार
आफ्नो फिल्म ‘वर्ड अफ माउथ’ ले चलेको अभिनेता बराल पनि स्विकार्छन् । हलमा धुरुधुरु रोएको भिडियो फिल्म निर्माण टिमबाटै सार्वजनिक गरिएको थियो । भिडियो टिकटकमा भाइरल भएपछि फिल्मले चर्चा पायो । त्यसपछि आम दर्शकका लागि उक्त फिल्म नहेरी नहुने जस्तो बनिदियो ।
दर्शकको मौखिक प्रचारका कारण फिल्मको व्यापारले जादुमयी हिसाबले उचाइ लिएको बताउँछन्, बराल । ‘मेरा लागि त जादु नै भयो । यो फिल्मले हाम्रो नेपाली फिल्मले पनि करोडौं व्यापार गर्न सक्छ भन्ने देखाइदियो । कथा भन्ने शैली निर्माण गर्न सक्यौं भने नेपाली फिल्मले विदेशी फिल्मलाई विस्थापित गर्न सकिन्छ भन्ने पनि देखाइदियो,’ उनी भन्छन् ।
नेपाली फिल्मले पछिल्लो महिनादेखि गरेको आक्रामक व्यापारले निर्देशक निश्चल बस्नेत पनि चकित बनेका छन् । सुरुवाती दिनमा खासै हल्लासमेत नभएको ‘पूर्णबहादुरको सारंगी’ जस्ता फिल्मले दर्शकको सकारात्मक प्रचारबाटै यो उपलब्धि पाएको निश्चलको दाबी छ ।
‘माउथ पब्लिसिटी सही तरिकाले भयो भने त्यसले गजबको नतिजा देखाउँछ भन्ने त बारम्बार प्रमाणित भइरहेकै कुरा हो । तर, ‘पूर्णबहादुरको सारंगी’ ले चाहिँ विशेष तवरले नै दर्शकलाई हलसम्म तानिरहेको छ,’ बस्नेतले भने, ‘यसले नेपाली फिल्मलाई दर्शकले हेर्ने दृष्टिकोण राम्रो रहेछ भन्ने देखाउँछ ।’
दसैंयता फिल्मको मनोरञ्जनात्मक पाटोदेखि विषयवस्तुकै हिसाबले दर्शकले स्वदेशी फिल्मको प्रचार गरिदिए । ‘यदि माउथ पब्लिसिटी नै ठूलो प्रचार माध्यम हो भने अबका फिल्मलाई अझ बढी दर्शकमाझ पुर्याउन सक्नुपर्छ होला । उनीहरूको प्रतिक्रियाले दर्शक हलमा तानिने भए,’ निश्चलले भने । उनी दर्शकले अनुभव गर्ने मात्रै नभई त्यसमा कलाकारकै प्रस्तुति पनि दमदार हुनुपर्ने दाबी गर्छन् ।
घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’ पनि दर्शकबीच पुग्न केही दिन नै लागेको थियो । निश्चलको त्यसअघिको फिल्म ‘दिमाग खराब’ कै हकमा पनि त्यस्तै भयो । ‘नेपाली फिल्मले दसैंयता ८०र९० करोडकै व्यापार गरिरहेको छ । त्यसैले यस्तो अवस्थामा हलवाला, फिल्मकर्मी सबै मिलेर लाग्नुपर्छ,’ निश्चलले भने ।
फिल्म वितरक प्रचण्डमान श्रेष्ठ दसैं र तिहारमा नेपाली फिल्मले व्यापक दर्शक पाएको बताउँछन् । ‘कमेडी फिल्मको वर्चस्व भइरहँदा एक्सन फिल्म ‘१२ गाउँ’ पनि दर्शकले हेरिदिए ।
अहिले ‘पूर्णबहादुरको सारंगी’ मा भुइँमान्छेको कथा भेटे । त्यसले दर्शकलाई घत लाग्यो, वर्ड अफ माउथ नै बलियो भइदियो,’ प्रचण्डमानको बुझाइ छ ।
पछिल्लो समय नेपाली फिल्मको प्रचारका लागि सामाजिक सञ्जाल महत्त्वपूर्ण प्लेटफर्म बन्दै आएको उनी बताउँछन् । ‘पहिला यही शैलीमा फिल्मको प्रचार पुग्थेन । ‘दर्पण छाया’ को समयमा फिल्मको माउथ पब्लिसिटी पुग्न ३र४ हप्ता लाग्थ्यो । तर, अहिले सामाजिक सञ्जालमार्फत तुरुन्तै दर्शकमाझ पुग्छ,’ उनले भने ।
एक दशकयता नेपाली फिल्मले घरेलु बक्सअफिसमा आफूलाई बलियो सावित गर्दै आएको वितरक श्रेष्ठ दाबी गर्छन् । उनका अनुसार ‘कबड्डी ४’ चल्दा त्यो वर्ष सबैभन्दा धेरै व्यापार गर्ने फिल्म बन्यो । ‘छक्कापञ्जा ३’ ले पनि प्रदर्शनमा आएको वर्ष सबैभन्दा धेरै कमाउने रेकर्ड बनायो । पछिल्लो समय भने विदेशी फिल्मसँग पनि स्वदेशी फिल्मले प्रतिस्पर्धा गर्ने आँट देखाएका छन् ।
अर्का अभिनेता दीपकराज गिरी पनि नेपाली दर्शकको फिल्म हेर्ने संस्कृति बढ्दै गएको तर्क गर्छन् । ‘फिल्मको बजार फिल्म हेर्ने संस्कृतिमा भर पर्छ । कुनै पनि देशमा फिल्म हेर्ने बानी कस्तो छ रु उनीहरूले फिल्मलाई कति मन पराउँछन् रु जीवनसँग फिल्म कति जोडिएको छ भन्ने कुराले फिल्म हेर्ने संस्कृतिलाई बढाउँछ,’ दीपकले तर्क गरे ।
दीपक राजेश हमालको समयमा नेपालीहरूको फिल्म हेर्ने संस्कृति निकै बलियो रहेको मान्छन् । ‘राजेश हमालको युगपछि फिल्म हेर्ने संस्कृति अवरुद्ध भयो । त्यसपछि फरक शैलीका, नयाँ सोच बोकेका फिल्मकर्मीहरू आए । ‘लुट’, ‘कबड्डी’ र ‘छक्कापञ्जा’ सिरिजले घरेलु दर्शकमा नेपाली फिल्म हेर्ने संस्कृति फर्काइदियो,’ अभिनेता गिरी थप्छन्, ‘व्यापारको पाटो मात्रै हेर्ने हो भने यी फिल्महरूले दर्शकमा फिल्म हेर्ने बानी बिग्रन दिएन ।’
व्यावसायिक रूपले निकै सफल मानिएका र दर्शकले रुचाइदिएका ती फिल्महरूले बसालिदिएको बानीले गर्दा नै यो वर्ष ‘बोक्सीको घर’ देखि नेपाली फिल्म ब्लकबस्टर बने । नेपाली फिल्मको उत्साहप्रद व्यापारले महँगोमा विदेशी फिल्म किनेर यहाँ प्रदर्शन गर्ने वितरकलाई समेत हच्काएको गिरीको बुझाइ छ ।
‘अब भारतका महँगा फिल्महरू नेपालमा ल्याउने कि नल्याउने भन्नेमा यहाँका वितरक पनि अन्योलमा परेका छन्,’ गिरीले थपे, ‘एक थरी नेपाली फिल्मकर्मी हिन्दी फिल्मले नेपाली बिगार्यो भन्थे, यस्तै हुने हो भने हिन्दी फिल्मलाई नेपाली फिल्मसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।’ घरेलु फिल्मको स्वाद चाखिसकेका दर्शकका लागि बाहिरी फिल्मले खासै असर नपार्ने गिरीको भनाइ छ ।
प्रतिक्रिया