काठमाडौँ । यस वर्ष २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौँ भन्नेमा स्पष्ट हुन्छ । विगत २६ वर्षदेखि प्रत्येक माघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ ।
विसं १९९० र २०७२ सालको भूकम्पबाट हामी के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन सकिरहेका छैनौं । त्यसकारण जोखिम न्यूनीकरण गर्नको लागि अथवा क्षति कम गर्नका लागि चनाखो बन्नैपर्छ ।
भूकम्प नेपालमा केन्द्रविन्दु बनाएर आउँदा मात्र हल्लाउने होइन, छिमेकी मुलुकतिर गयो भने पनि अथवा हाम्रो सिमानाभन्दा टाढा जाँदा पनि नेपालमा क्षति हुनसक्छ । हालै तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पले पनि त्यो पाठ पढाएको छ ।
यो सामान्य लागे पनि साधारणतय नेपालमा जाने भूकम्पहरु टेक्टोनिक प्लेटको जुधाइको कारण अथवा दुईवटा टेक्टोनिक प्लेटहरु एकआपसमा ठोकिँदा हिमालय क्षेत्रमा त्यसको सिर्जना हुने हो । हाल त्यही प्रक्रिया चलिरहेको छ । जुन प्रक्रिया अहिले पनि चलिरहेको छ ।
त्यही सिलसिला मध्ये हिमालयभन्दा उत्तरतर्फ इन्डियन प्लेट र युरोसिन प्लेटको जुधाइ अथवा इन्डियन प्लेटको मुनी युरोसिन प्लेट छिर्दा शक्ति सञ्चय हुन्छ । अर्को भनेको उत्तरतर्फ रहेको युरोसिन प्लेटको आफ्नै गति हुन्छ त्यसले नेपालमा जाने भूकम्प र उत्तरतिर जाने भूकम्पको प्रकिया फरक हुन्छ ।
नेपालमा जाने प्रकिया एकआपसमा जुध्दा उत्तरतर्फ रहेको हिमालयको भाग ठूलो भूकम्प जाँदा त्यो दक्षिणतर्फ सर्छ भने तिब्बतमा गएको भूकम्प साधारण प्रकृतिको नै रहेको देखिन्छ ।
तिब्बतका भूकम्पहरु साधारण प्रकृतिको नै हुन्छ । त्यो विपरीत दिशामा हुनेखालको हुन्छ । हिमालयहरुमा जाने भूकम्पहरु भन्दा कमजोर पनि हुन्छन् । तिब्बततिर धेरै गहिराइमा पनि जाने हुन्छन् किनभने इन्डिएन प्लेट तिब्बततिर पुग्दा धेरै गहिराइमा जान्छ ।
नेपालमा भन्दा त्यसको गहिराइ तल हुन्छ । तर यस पटक दुर्भाग्यवस धेरै माथि केन्द्रबिन्दु बनाएर आयो । जसले क्षति गरायो ।
नेपालमा भूकम्पको जोखिमको कुरा गर्दा हिमालयको मात्र गरेर हुँदैन । नेपालमा भूकम्प कति गएका छन् भनेर ऐतिहासिक तथ्याङ्क हेर्ने हो भने १२५५ इस्वी संवत्मा गएको सबैभन्दा पुरानो तथ्याङ्क छ ।
जुन भूकम्पमा परी अभय मल्ल राजाको मृत्यु भएको थियो । त्यसभन्दा पछाडि वा अगाडिको भूकम्पहरुका बारेमा जानकारी छैन । त्यसपछि ९० र ०४५ सालको पूर्वी नेपालमा भएको देखिन्छ ।
मध्य नेपालमा भने सोह्रौ र अठारौ शताब्दीमा अर्थात् १८९० मा गएको पाइन्छ । चौधौँ शताब्दीमा पनि भूकम्प गएका छन् । त्यसपछि ०७२ सालमा अढाइ वर्षको अन्तरालमा मध्यम खालका भूकम्पहरु गए ।
त्यस्तै पश्चिमतिर करिब पाँचसय वर्ष अगाडिको मुस्ताङ केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको देखिन्छ । यी सबै तथ्यांकहरुले हामी भूकम्पीय जोखिममा अहिले मात्र होइन विगतदेखि नै रहेछौँ भन्ने देखाउँछ ।
भूकम्प जब हिमालय क्षेत्रमा बन्ने प्रकृया सुरु भयो त्यो पाँच करोड पहिलेदेखिको प्रकृया हो । त्यही प्रक्रिया अहिले पनि चलिरहेको छ । यो अझै करोडौँ वर्ष चल्छ । त्यसले गर्दा हामी सदैव नेपाल भुकम्पीय जोखिममा रहिरहन्छ ।
सचेतनाको कुरा गर्दा विश्वमा के भइरहेको छ भन्ने कुराहरु हेनुपर्छ । संसारको सबैभन्दा ठूलो भूकम्प चिलीमा १९६०मा गयो । ९.५ म्याग्निच्युटको भूकम्प थियो । त्यसपछि गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो ।
मानवीय क्षति र थोरै भौतिक क्षति भएको देखिन्छ । त्यसैगरी गोरखा भूकम्प जस्तै न्युजील्याडमा जाँदा दुई जना मानिसको मृत्यु भयो तर हाम्रोमा करिब नौ हजारको मानवीय क्षति भयो ।
नेपालमा गइरहेका भूकम्पले मानवीय र भौतिक क्षति पुगाइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पूर्वतयारी पुगेको छैन । विशेषतः भूकम्पका लागि हामी कहिले पनि तयार भएनौँ । परापूर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो ।
तर हामी सचेत हुन सकेका छैनौं । जोखिम न्यूनीकरणमा गरेका कामहरु कम भएको देखिन्छ । त्यस्तै, ७२ सालको भूकम्पपछि जनताहरु धेरै सुसूचित भइसकेका छन् । राज्यबाट नीति नियमहरु धेरै बनिसकेको छ । हुन त भूकम्प जाँदाखेरी हामीले बनाएका संरचनाले नै क्षति गर्ने हो ।
क्षति कम गर्नका लागि भवन आचारसंहिता बनिसकेको अवस्था छ । तर यति हुँदाहुँदै पनि जाजरकोट र बझाङमा भूकम्प जाँदा पनि सोचेको भन्दा धेरै ठूलो क्षति भयो । यी सबै कुराहरु हेर्दा ९० र ०७२ सालको भूकम्पपछि जनताहरु सचेत त भएको देखिन्छ तर सिमित सहरी र सुगम क्षेत्रमा मात्र त्यो चेतना छ । जाजरकोट, रुकुम, बझाङ जस्ता ठाँउमा पुग्नुपर्ने सूचना नपुगेको अनुभव हुन्छ ।
यसमा स्थानीय तह सबैभन्दा बढी जागरुक हुनुपर्छ । किनभने हामीले जति नियम कानून बनाउँछौँ, त्यो जनताको दैलोसम्म पुगाउने स्थानीय निकायले हो । त्यसकारण स्थानीय निकाय सक्रिय भएर काम गरे बढी प्रभावकारी हुन्छ ।
जनतामा भूकम्प आउन सक्छ, म जोखिममा छु भनेर थाहा पाउनुपर्छ र सुरक्षित हुनुपर्छ भन्ने ज्ञान आवश्यक छ । जबसम्म जानकारीबोध जनमानसमा हुँदैन तबसम्म जनता सुरक्षित हुँदैनन् ।
भूकम्पसम्बन्धी जानकारी, भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुराहरु सिकाउनका लागि स्कुल तहदेखि नै अन्य पाठ्यक्रमसँगै भूकम्पको बारेमा पनि पढाउनुपर्छ । त्यसमा सबैभन्दा ठूलो कुरा भूकम्प गइसकेपछि कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा सिकाउनको लागि र अभ्यास नियमित रुपमा गराउन सक्यौँ भने भूकम्प जाँदा आत्तिनुपर्दैन होला र भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भनेर पनि भन्नुपर्दैन होला ।
९० सालको भूकम्पको नाम नै ‘बिहार–नेपाल’ छ किनभने त्यो बेला नेपाल र भारतमा केन्द्रविन्दु पत्ता लगाउन सक्ने व्यवस्था थिएन । त्यसमध्ये भूकम्पले करिब १६ हजार मानिसको ज्यान लियो ।
त्यसमध्ये ८ हजार बिहारमा मृत्यु भएको मानिसको संख्या थियो । नेपालको विभिन्न ठाँउ गरेर ८ हजार मानिसको मृत्यु भएको थियो भने भारतको एउटै ठाँउमा बिहारमा ८ हजारको मृत्यु हुँदा ९० सालको भूकम्पलाई नेपाल बिहार भूकम्प भनेर नाम दिइएको हो ।
हाम्रो भौगोलिक अवस्थाको कारण महाभूकम्पहरु उत्तरी क्षेत्र हिमालयको मुनि केन्द्रविन्दु जान्छन् । तर त्यो पहाडको चट्टान कता सर्छ भन्दा दक्षिणतर्फ चुरेसम्म सर्छ ।
महाभूकम्प आफैमा ठूलो भयो र चुरेसम्म पुगेर जमिन चिरा पार्दा सबैभन्दा बढि खतरा र क्षति बढी हुन्छ । नेपालमा हुने महाभूकम्पको क्षति सबैभन्दा बढी पहाडमा हुन्छ ।
(खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया