कोशी प्रदेश पर्यटन वर्ष : उपलब्धिमूलक बन्ला १० करोड खर्च ?

शनिबार, १२ माघ २०८१
इटहरी : १० करोड बजेटको विनियोजनका साथ आगामी वर्ष २०८२ लाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने कोशी प्रदेश सरकारले तयारी गरिरहँदा बिहीबार आयोजक समितिको पहिलो बैठक कोशी टप्पुमा बस्यो । सुनसरीको कोशी गाउँपालिकास्थित कोशी टप्पु क्षेत्रमा कोशीको पर्यटन वन तथा वातावरण मन्त्रालयले साढे सात सय बढी सहभागी गराएर लाखौंको खर्चमा तयारी स्वरूपको पहिलो बैठकको आयोजना गरेको हो । सो कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, सांसद, दलका नेता, गाउँपालिकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरूका साथमा उद्योगी तथा व्यवसायी लयायतको उपस्थिति रहेको थियो । विश्व पर्यटन दिवसको अवसरमा गत सेप्टेम्बर २७ मै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका थिए । पर्यटन वर्षमा मुख्यतयाः भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक कोशी प्रदेशमा भित्राउने लक्ष्य समेत सरकारले लिएको छ । कोशीका घुम्नुपर्ने ८२ स्थान छनौट गरेर वर्ष २०८२ मा पर्यटन वर्ष मनाउँदै गर्दा आयोजक समितिको बैठक सुनसरी जस्तै प्रत्येक जिल्लामा आयोजना गरिने उल्लेख गरिएको छ । पहिलो बैठक बस्न चार महिना, सबै जिल्लामा बस्ने मुख्यमन्त्रीको चाहाना बिहीबार बसेको आयोजक समितिको पहिलो बैठक पर्यटन वर्ष मनाउने घोषणाको चार महिनापछि मात्रै बस्न सफल भएको हो । सो बैठकमै कोशीका सबै जिल्लामा बैठक बस्ने घोषणा गर्दै गर्दा १४ जिल्लामा बैठक बस्न कति समय लाग्ने हो भन्न सक्ने अवस्था छैन । तर, प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धुव्रकुमार भण्डारीले मुख्यमन्त्री कार्कीले सबै जिल्लामा बैठक बस्ने चाहाना व्यक्त गरेको उल्लेख गरे । ‘सबै क्षेत्रको सहभागितामा समय लागे पनि कार्यक्रमले उल्लेखनीय प्रचारप्रसार भएको छ । हामीले यस्ता कार्यक्रमहरू गर्न सक्यौँ भने प्रचारप्रसारमा समेत मद्दत पुग्ने गर्दछ,’ उनले भने, ‘प्रदेश सरकारको यो महत्त्वाकाङ्क्षी योजनालाई सफल र उपलब्धिमूलक बनाउन सबैको साथ आवश्यक रहेको छ ।’ मूल आयोजक समितिका अध्यक्ष समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारसँग करोडौँ लगानी गर्न सक्ने सामथ्र्य रहेको उल्लेख गर्दै उपलब्धिमूलक क्षेत्रमा लगानी गर्न सरकार तयार रहेको बताए । बैठकमा तल्लो निकायका प्रतिनिधिलाई निर्देशन दिँदै कार्कीले भने, ‘तपाईँहरूले लाखौँसम्मका योजनामा काम गर्न सक्नुहुन्छ, गर्नुपर्ने कामका बारेमा हामीलाई भन्नुहोस् हामी करोडौँ खर्च गर्न सक्ने सामथ्र्यका साथ बसेका छौँ, केन्द्र सरकार अर्बौँ लगानी गर्न सक्छ । यो वर्ष गर्न सक्ने काम गरेर अर्को वर्ष गर्ने कामको नीति कार्यक्रम र बजेटबाट सम्बोधन गर्न तयार छौँ ।’ पर्यटक के चाहन्छन् ? जनस्तरमा भने सरकारले पर्यटन वर्षका नाममा गर्ने खर्चमा अनियमितता हुनेमा समेत शङ्का व्यक्त गर्ने गरेका छन् । जानकारहरूसमेत पर्यटन वर्ष मनाउनका लागि जुटेको सरकारको भने पर्यटकका लागि भन्दा पनि बैठक भत्तामै ठुलो रकम खर्च हुनेमा शङ्का व्यक्त गर्दछन् । सरकारले बैठक भत्तामा भन्दा पनि उपयुक्त ठाउँमा लगानी गर्नुपर्नेमा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरू बताउँछन् । खोटाङको हलेसी होमस्टेका सञ्चालक नयस राईले पर्यटकले नयाँ कुराहरूको खोजी गर्ने भएकाले त्यसको व्यवस्थापनमा सरकार अहिले देखिनै लाग्नुपर्ने बताए । ‘अग्र्यानिक कुराहरूलाई प्रोत्साहन, उत्पादनमा प्रोत्साहन, पर्यटक घुमाउनेदेखि बस्ने र घुम्ने ठाउँसम्मका कुराहरूलाई व्यवस्थित बनाएर लैजानु पर्ने हुन्छ । उनले भने,‘हाम्रा क्षेत्रमा हुने कुराहरूको ब्रान्ड बनाएर उपयुक्त ठाउँमा लगानी गर्ने कुरामा जोड दिनु जरूरी छ ।’ सरकारले पर्यटन वर्ष सफल बनाउन प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने सूचना प्रविधिका जानकारहरू बताउँछन् । ‘हामीले हरेक ठाउँको बारेमा एकै ठाउँमा जानकारी प्रदान गर्न सकियो भने पर्यटकहरू आकर्षित हुन सक्छन्,’ सूचना प्रविधिका जानकार प्रनिश श्रेष्ठले प्रदेशखबसंग भने, ‘अहिले टिकाउने भनेकै ‘टेक्नोलोजीले’ हो ।’ यसका अतिरिक्त शान्ति सुरक्षा, अनावश्यक झन्झटमुक्त, उपयुक्त वासस्थानका साथै, हरेक ठाउँमा आधारभूत आवस्यक्ताको कमी नहोस् भन्ने पर्यटकको चाहाना हुने गर्दछ । यसका लागि पनि सरकार तयार बन्नुपर्ने जानकारहरूको मत छ । पर्यटन वर्ष २०८२ को वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रबाट औपचारिक उद्घाटन गर्ने सरकारी तयारी छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार