विकास गाउँतिर, मान्छे शहरतिर

शुक्रबार, ०१ बैशाख २०८०
सीताराम गुरागाईं मुलुक संघीयतामा गएको ८ वर्ष भएको छ। संघीय संरचना अनुरूप नेपालमा ७५३ संथानीय र ७ प्रदेश सरकार सञ्चालनमा छन्। केन्द्रमा संघीय सरकार क्रियाशील छ। सबैको एउटै उद्देश्य छ, मुलुक समृद्ध बनाउने। ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको थुदामका नागरिकलाई पनि राज्य छ भन्ने महसुस गराउने। स्थानीय सरकारको अभ्यासले सिंहदरबारका अधिकार घरदैलोमा उपलब्ध छ। स्थानीय, प्रदेश र प्रतिनिधिसभामा गरी हरेक गाउँबाट कम्तीमा एकजना जनप्रतिनिधि चुनिएका छन्। उनीहरूले आफ्ना गाउँको मुद्दालाई कार्यान्वयन गर्ने ठाउँसम्म पुर्‍याउन पुलको काम गरिरहेका छन्। एकजना वडा सदस्यले गाउँको समस्या वडा र पालिकासम्म पुर्‍याएको छ। वडाध्यक्षले टोलटोल डुलेर नागरिकका दुःख बुझेको छ। भूगोल, जात, वर्ग र सम्प्रदायका जनजीविकाका सवाल पहिलेभन्दा बढी सुनिएका छन्। गाउँमा जाने बजेटको आकार पनि बढेको छ। हिमाली पालिकाको एउटा वडामा वर्षमा कम्तीमा ५० लाख रुपैयाँ विकास बजेट पुगेको छ। उक्त बजेटलाई वडाले स्थानीय आवश्यकताअनुसार खर्च गर्न सक्छ। सपनाका पदचापहरू पछ्याउँदै सडकका धर्साहरूले विकासको मूलढोकाहरू खोलिरहेका छन्। स्वास्थ्य, शिक्षा, विद्युत् र रोजगारको अवसर सिर्जना गर्ने हरेका पालिकाको योजना छ। यतिखेर तराईका फाँटहरूमा मात्र होइन, पहाड र हिमालका कुना कन्दरामा पनि विकासका बिगुल बजिरहेछन्। तर, एउटा समस्याले विकराल रूप लिइरहेको छ। त्यो समस्या हो, बसाइँसराइ। बसाइँसराइ पहाड र हिमाली जिल्लाको मात्र होइन, सुगम तराईका जिल्लामा पनि टड्कारो समस्या बन्दैछ। हिमाल र पहाडका गाउँहरू रित्तिँदै छन्। तराईका गाउँ भरिँदैछन्। २०७८ सालको जनगणना अनुसार कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ। जसमा महिला २५ लाख ४४ हजार ८४ र पुरुष २४ लाख १७ हजार ३२८ छन्। यहाँको जनसंख्या १० वर्षाअघि ४५ लाख ३४ हजार ९४३ थियो। जनसंख्याको वितरणमा तराईको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ। जनगणना २०७८ अनुसार १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या २३ लाख १५ हजार ३०१ जनाले बढ्दा पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या तीन लाख ६३ हजार ६१ ले मात्रै बढेको छ। तर हिमाली क्षेत्रमा भने १० वर्षमा जनसंख्या घटेको छ। हिमाली क्षेत्रका बसोबास गर्ने जनसंख्या आठ हजार ८४४ जनाले घटेको देखिएको छ। कम जनसंख्या भएका देशभरका पाँच नगरपालिकामध्ये कोशी प्रदेशका तीन नगरपालिका परेका छन्। संखुवासभाको मादी (३२८१ जना) र धर्मदेवी (३७५९ जना) तथा तेह्रथुमको लालिगुराँस (४०५९ जना) नगरपालिका कम जनसंख्याका आधारमा क्रमशः तेस्रो, पाँचौँ र चौथो स्थामा छन्। यता बढी जनसंख्या भएका पाँच जिल्लामध्ये तीन कोशी प्रदेशका छन्। बढी जनसंख्या हुनेमा मोरङ दोस्रो, झापा चौथो र सुनसरी पाँचौँ स्थानमा छन्। मोरङको जनसंख्या ११ लाख ४८ हजार १५६, झापाको नौ लाख ९८ हजार ५४ र सुनसरीको नौ लाख २६ हजार ९६२ जना छ। यस्तै बढी जनसंख्या वृद्धिदर ऋणाात्मक भएका पाँचमध्ये कोशी प्रदेशका तीन वटा पहाडी जिल्ला छन्। खोटाङ जिल्लाको जनसंख्या वृद्धिदर सबैभन्दा कम –१.५६ प्रतिशत छ। भोजपुरको –१।३९ र तेह्रथुमको –१।३० प्रतिशत छ। राष्ट्रियस्तरमा खोटाङ दोस्रो, भोजपुर चौथो र तेह्रथुम पाँचौँ स्थानमा छन्। योसँगै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, इलाम, ओखलढुंगा र धनकुटाको वृद्धिदर ऋणात्मक छ। झापा, सुनसरी, मोरङ र उदयपुरको मात्रै धनात्मक छ। यसैगरी बढी जनसंख्या वृद्धिदर भएका गाउँपालिका झापाको बुद्धशान्ति र मोरङको बुढीगंगा हुन्। कम वृद्धिदर भएको गाउँपालिका सोलुखुम्बुको नेचासल्यान हो। सुनसरी प्रदेशको सबैभन्दा बढी जनघनत्व भएको जिल्लामा पर्छ। उल्लेखित तथ्यांक अनुसार कम जनसंख्या हुने र वृद्धिदर ऋणात्मक हुने नगरपालिका तथा जिल्ला पहाडी र हिमाली भेगका हुन् भने बढी जनसंख्या भएका जिल्ला तराईका हुन्। जहाँ पहाडबाट मानिसहरू बसाइँ सरेर जाने गर्छन्। २०६८ मा १,२७,४६१ जनसंख्या रहेको ताप्लेजुङमा २०७८ मा १,२०,५९० पुगेको तथ्यांक छ । यस्तै पाँचथरमा १,९१,८१७ बाट १,७२,४००, इलाममा २,९०,२५४ बाट २,७९,५३४, तेह्रथुममा १,०१,५७७ बाट ८८।७३१ जनसंँख्या पुगेको तथ्यांक छ । यस्तै, संखुवासभामा १,५८,७४२ बाट १,५८,०४१, धनकुटामा १,६३,४१२ बाट १,५०,५९९, भोजपुरमा १,८२,४५९ बाट १,५७,९२३, खोटाङमा २,०६,३१२ बाट १,७५,२९८ पुगेको छ। सोलुखुम्बुमा १,०५,८८६ बाट १,०४,८५१, उदयपुरमा ३,१७,५३२ बाट ३,४०,७२१, ओखलढुंगामा १,४७,९८४ बाट १,३९,५५२, सुनसरीमा ७,६३, ४८७ बाट ९,२६,९६२, मोरङमा ९,६५,३७० बाट ११,४८,१५६ र झापामा ८,१२,६५० बाट ९,९८,०५४ जनसंख्या पुगेको तथ्यांक छ । यसरी हेर्दा हिमाल–पहाड र तराईका जनसंख्याको तीव्र असन्तुलन छ। हिमाल र पहाडमा पर्याप्त भौतिक पूर्वाधार विकास, एकीकृत बस्ती, शहरी सुविधाको उपलब्धता नहुँदा मान्छे झापा, मोरङ र सुनसरी झरेको पाइएको छ। तर, यो नयाँ हैन, दशकौं अघि शुरूआत भएको जनसांख्यिक प्रवृत्ति हो। तराईमा जनसंख्या वृद्धिका मुख्य कारण आन्तरिक जन्मदर भन्दा बढी बसाइँसराइ भएको सहजै अनुमान गर्न सकिन्छ। झापा, मोरङ र सुनसरीको जनसंख्या वृद्धिदर हुनु बसाइँसराइले नै हो। यो तथ्यांकले बिस्तारै पहाडी जिल्लाको विकासमा प्रभाव पार्दै जाने अनुमान गर्न सकिन्छ। किनभने राज्यको नीति नै जनसंख्या बढी भएका जिल्लामा बढी बजेट र कम भएका जिल्लामा कम बजेट दिने खालको छ। भूगोलका आधारमा प्राथमिकिकरण गरिँदैन। त्यसकारण विकास बजेट र मानवीय संशाधनको ठूलो हिस्सा झापा, मोरङ र सुनसरीमा केन्द्रित हुने देखिन्छ। जनसंख्या घटेसँगै पहाडका जमिन बाँझिने र घर रित्ता हुने क्रम बढ्ने छ। बसाइँसराइले मानिसको जीवनका विविध पक्षमा गहिरो प्रभाव पारेको हुन्छ। बानीव्यवहार, आहारविहार, भाषा, संस्कृति, सोचाइ, पेसाजस्ता वैयक्तिक पक्षमा यसले परिवर्तन ल्याउँछ। राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, वातावरणीय पक्षमा पनि प्रभाव परेको हुन्छ। किनभने मान्छेसँगै उसको भाषा र संस्कृति पनि स्थानान्तरण हुने गर्छ। नेपालमा जस्तै कोशी प्रदेशमा पनि आन्तरिक बसाइँसराइ उच्च रहेको कारण जनसंख्याको वितरणमा असमानता बढ्दै गएको छ। यसबाट आर्थिक उत्पादन र वितरणमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। जनसंख्या तथा बसाइँसराइलाई व्यवस्थापन गर्ने योजना आजको आवश्यकता हो। विकासको लहर गाउँतिर जाँदै गर्दा मान्छेचाहिँ किन शहर र तराईतिर सर्दै छन्। किन उनीहरूलाई त्यो लहरले छुन सकेको छैन। यो गम्भिर विषय हो। बसाइँसराइले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा पारेका प्रभावको समयमै विश्लेषण गरी बसाइँसराइलाई व्यवस्थित बनाउन जरुरी छ। तीनै तहका सरकारले यसका लागि विशेष योजना ल्याउनुपर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार