हीरक जयन्तीमा १ करोड बढी अक्षय कोष सङ्कलन

शनिबार, १३ बैशाख २०८२

पा‍ंचथर : कुम्मायक गाउँपालिका केन्द्र यासोकमा सञ्चालित पृथ्वी माध्यमिक विद्यालय, यासोकले आफ्नो स्थापनाको ६० औँ वार्षिकोत्सव (हीरक जयन्ती) भव्यताका साथ मनाएको छ।

यस अवसरमा विद्यालयले सेवा क्षेत्रका यासोक, रानीगाउँ, मङजाबुङ, स्याब्रुम्बा र आङसराङ लगायत विभिन्न स्थानबाट कामका सिलसिलामा जिल्ला तथा देशबाहिर रहेका स्थानीय, अभिभावक, पूर्व विद्यार्थी र सरोकारवालाबाट १ करोड ४ लाख रुपैयाँ बराबरको अक्षय कोष सङ्कलन गरेको छ।

विद्यालय व्यवस्थापन समिति, प्रशासन र ६० औँ वार्षिकोत्सव मूल समारोह समितिले केही महिना अघि हीरक महोत्सव मनाउने निर्णय गर्दै विद्यालयको दीगो सञ्चालनका लागि सहयोग आह्वान गरेका थिए। ’आह्वान गरे लगत्तै देश–विदेशमा रहेका सरोकारवालाले सहयोग अभियान सुरु गर्नुभयो, हालसम्म १ करोड ४ लाख रुपैयाँ सङ्कलन भइसकेको छ र सहयोग क्रम अझै जारी छ,’ विद्यालयका प्रधानाध्यापक ऋषिराम गजुरेलले बताए।

विद्यालयको दीगो व्यवस्थापन, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी प्रोत्साहन, उत्कृष्ट विद्यार्थी र शिक्षक पुरस्कार, साथै गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगका लागि अक्षय कोष स्थापना गरिएको कुम्मायक–१ का वडाध्यक्ष तथा मूल समारोह संयोजक देवेन्द्र लावतीले जानकारी दिए।

हालसम्म रकम सङ्कलन प्रक्रिया जारी रहेकाले खाता बन्द गर्न बाँकी रहेको उनले बताए। ६० औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले स्थापनाकालदेखि विभिन्न कोणबाट योगदान पु¥याएका ५ सयभन्दा बढी व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ।

महोत्सवका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले यासोक क्षेत्रका नागरिकले शैक्षिक उन्नयनमा देखाएको सहयोगी भावना देशभरका लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार