खोटाङ : खोटाङमा बाघले आतङ्क मच्चाएकाे छ। जिल्लाका विभिन्न स्थानीय तहमा बाघले किसानका दुई दर्जनभन्दा बढी पशुचौपाया खाएपछि बाघ नियन्त्रणको पहल थालिएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालयलाई पत्राचारसमेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार, बाघ मार्ने अधिकार कसैलाई पनि नभएकोले नियन्त्रणका लागि वन कार्यालयलाई लिखित रूपमा पत्राचार गरिएको हो।
“जङ्गलबाट गाउँ पसेको बाघले आतङ्क मच्याएको खबर विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्राप्त भएको छ। विशेष गरी केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित मामातिमका स्थानीय बासिन्दाको पशुचौपाया क्षति भएको विवरण प्राप्त भएको छ,” खड्काले भने।
बाघले खार्तम्छास्थित मामातिममा समला राई, रञ्जित राई, देवराज राई, मिनालक्ष्मी राई, भरत विष्ट, हर्काश खड्का, कुमारी खड्का, र बुद्धिराज राईका बाख्रा र सुगुरलाई निशाना बनाएको छ।
यसैगरी, बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको खसी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका कृष्ण कार्कीका बाख्रा र खसीलाई बाघले मारिदिएको छ।
डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बाघ नियन्त्रण गर्न वन कार्यालयसँग आवश्यक जनशक्ति नरहेको बताए।
प्रहरीको पत्राचारपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी गराइएको र कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिएको छ। दक्ष जनशक्ति आएपछि प्रहरीसँगको समन्वयमा बाघ नियन्त्रणको काम सुरु गरिने दाहालले बताए।
स्थानीय बासिन्दा बाघको आतङ्कबाट आतंकित छन्, भने बाघले पारेको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्तिका लागि पहल सुरु गरिएको वन कार्यालयले जानकारी दिएको छ।
Discussion about this post