झापा : वैदेशिक रोजगारीको नाममा ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका–१० का लक्ष्मण पराजुली र धनुषा सवेला नगरपालिका–१२ का ४७ वर्षीय अरुण राज शर्मा रहेका छन्। दुवै जना हाल काठमाडौँमा बस्दै आएका थिए।
महेश लिम्बू सहित पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
आरोप अनुसार पराजुली र शर्माले बेलायत (युके) पठाइदिने भन्दै ३८ जना युवाबाट ११ करोड ६ लाख ९० हजार रुपैयाँ असुलेका थिए। तर,कसैलाई पनि विदेश नपठाई ठगी गरेको उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
यसैबिच, क्यानडामा पठाइदिने प्रलोभनमा पाँच लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ४४ वर्षीय रवीन्द्र वाशुकलालाई पनि पक्राउ गरेको छ।
वाशुकलामाथि अनुसन्धान भइरहेको र थप पीडित भए उजुरी दिन प्रहरीको अनुरोध छ।
प्रतिक्रिया