खोटाङ : खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४४ करोड ३७ लाख ३४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनमा प्रस्तुत बजेटमा विकास निर्माण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाले रु. २८ करोड २० लाख ५० हजार चालु खर्च र रु. १६ करोड १६ लाख ८४ हजार पुँजिगत खर्चका लागि छुट्याएको हो।
संघीय विशेष अनुदानबाट रु. २ करोड २९ लाख, संघीय समपूरक अनुदानबाट रु. १ करोड ४० लाख, प्रदेश समपूरक अनुदानबाट रु. १ करोड २५ लाख, संघीय सशर्त अनुदानबाट रु. १९ करोड ४४ लाख र प्रदेश सशर्त अनुदानबाट रु. ८० लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ।
प्रस्तावित बजेट अनुसार गाउँपालिका पुँजिगत विकासका लागि रु. ४ करोड ६४ लाख ४२ हजार, वडास्तरीय कार्यक्रमका लागि रु. २ करोड ५० लाख, शिक्षा क्षेत्रका लागि रु. ३ करोड ४२ लाख १३ हजार, स्वास्थ्य सेवाका लागि रु. ८० लाख ९१ हजार, कृषि विकासमा रु. ४६ लाख ३० हजार र पशुपालन विकासमा रु. ३५ लाख ८५ हजार विनियोजन गरिएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले बजेट समावेशी, विकासमुखी र नागरिकमुखी भएको दाबी गरेका छन्। विशेष गरी ग्रामीण भेगमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच बढाउने, कृषि तथा पशुपालनमा उत्पादन वृद्धिमा सहयोग गर्ने कार्यक्रमलाई बजेटले समेटेको छ।
स्थानीय विकास योजनाहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा गाउँपालिका अध्यक्षले जोड दिएका छन्। गाउँपालिकाले यस वर्ष पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रको विकासलाई पनि सन्तुलनमा राख्ने लक्ष्य लिएको जनाएको छ।
प्रतिक्रिया