झापा : पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले प्रत्येक सदस्यको घरमा अनिवार्य रुपमा फलफूलका बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ।
पार्टीका जिल्ला सचिव तुलसी कार्कीका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा बिरुवाको व्यवस्था गरी सदस्यहरुलाई रोपण कार्यमा सहभागी गराइएको छ। “हरेक सदस्यलाई पार्टीले नै बिरुवाको व्यवस्था गरेर आफ्ना खाली जमिनमा फलफूलको बिरुवा लगाउन अभिप्रेरित गरिरहेका छौँ,” उनले बताए।
जिल्लामा करिब ५० हजार सदस्य रहेका र चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा मात्रै करिब एक लाख बिरुवा रोप्ने लक्ष्य रहेको उनले जानकारी दिए। उनका अनुसार लिची, आँप, कागती, जामुनलगायत फलफूलका बिरुवा वितरण गरिएको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु खड्काले निजी वन हुर्काउन इच्छुक, सामाजिक संघसंस्था तथा राजनीतिक दलहरुले निवेदन दिएर बिरुवा माग गर्ने गरेको र आवश्यकता अनुसार उपलब्ध गराउँदै आएको बताए। उनका अनुसार आगामी तीन वर्षभित्र वडाका प्रत्येक घरअगाडि र सडक किनारमा छाँयादार, हरियाली तथा फलफूलका बिरुवा हुर्काउने योजना रहेको छ।
प्रतिक्रिया