केशव दाहाल
भनिन्छ, नेपालमा स्थिर सरकार भएन । के हो स्थिर भनेको ? कस्तो सरकारलाई स्थिर सरकार भन्ने ? हामीले स्थिर सरकार खोजेको हो कि स्थिर राजनीति ? कि हामीले खाजेको अरु नै हो ? राजनीतिमा यस्ता प्रश्नहरु आवश्यक छन् । तर यावत् प्रश्नहरु माथि न त वहस भएको छ, न त नागरिकले भनेजस्तै पाँच बर्षको स्थायी सरकार नै हामीले प्राप्त गर्न सकेका छौं । के हो कुरा ? आज थोरै यसैमा चर्चा गरौं ।
२०४६ अघि देशमा पञ्चायत थियो । पञ्चायतमा मन्त्रिपरिषद् वा प्रधानमन्त्री भन्दा माथि थिए राजा । राजा स्वयं कार्यकारी थिए । त्यो समय यस्तो थियो कि राजा स्थायी थिए, तर मन्त्रिपरिषद् अस्थायी । त्यसैले त्यो समय प्रधानमन्त्री र मन्त्रीहरु फेरिनुलाई अस्थिरता भनिएन । तर ०४६ पछि हामीले कार्यकारी अधिकार सहितको मन्त्रिपरिषद् हुने संसदीय ब्यवस्था अवलम्बन गर्यौं । परिणाम, निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी अधिकार दियौं । र, पाँच वर्ष निरन्तर सरकार चल्ने अपेक्षासाथ, सरकारको कार्याविधि तोक्यौं ।
हाम्रो संसदीय व्यवस्थाले एउटा सरकार पाँच वर्ष चलोस् भन्ने चाहन्छ । तर सरदर एक वा दुई वर्षमा एउटा सरकार बनिरहेको छ । जसको अर्थ हुन्छ, हाम्रो प्रणालीले २० प्रतिशतमात्रै काम गरिरहेको छ । त्यसैले निश्चित छ, यो निकै खराब कुरा हो । यसैकारण हामी भन्छौं, सरकार अस्थिर भयो । यो वर्ष वर्षमा ढल्छ र नयाँ बन्छ । त्यसैले आफ्ना दोषहरु लुकाउँदै प्रधानमन्त्री र मन्त्रीहरु भन्छन् हामीले पूरा समय काम गर्न पाएनौं । तर जनता टिप्पण्ी गर्दछन्, नेताहरु खराब छन् । लोभी छन् । अस्थिर छन् । त्यसैले स्थिर सरकार हाम्रालागि फगत तिर्सना भयो ।
झट्ट हेर्दा साँच्चै यावत् अस्थिरताको दोष नेताहरुलाई लगाउन सकिन्छ । किनभने उनीहरु सत्ताका लागि असाध्यै लोभी छन् । सत्ताकै मोलमोलाइमा उनीहरुको समय बित्छ । अंकगणित उनीहरुको राजनीति भयो । त्यसैले सतहमा हेर्दा समस्या नेताहरुमा देखिन्छ ।
तर अलि भित्र पसेर हेर्दा यो संकट केही व्यक्तिमा मात्र निहित छैन । यो संकट हाम्रो समग्र राजनीति, पार्टी, प्रणाली, अभ्यास र सस्ंकृतिमा छ । यो संकट लामो समयदेखि हुर्किएको हाम्रो व्यक्तिवादमा छ । संकट राजनीतिमा पन्पिँदै गरेका गुटहरुमा निहित छ । संकट राजनीतिमा स्खलित हुँदै गरेको सामाजिक निष्ठा र सत्तामुखी लालचामा छ । हाम्रो समग्र चिन्तन, संस्कृति र अर्थराजनीतिक चरित्र यस्तो खत्तम् हुँदैछ कि यो राजनीतिमा एकातिरबाट गौतम बुद्ध छिराइदियो भने अर्कोतिरबाट शोभराज निस्किन्छ ।
किन यस्तो हुँदैछ ? किनभने हाम्रो राजनीतिले हामीलाई दियो संकीर्ण व्यक्तिवाद । व्यक्तिवादी चरित्रको सबैभन्दा ठूलो कमजोरी नै यही हो कि मान्छेले आफूलाई सर्वोच्च ठान्दछ । र, आफ्नो सर्वोच्च सत्तालाई जोगाइराख्न उसले आसेपासेहरु बनाउँछ । गुट बनाउँछ । आफ्ना वरिपरी दलालहरुको झुण्ड बनाउँछ । ती सबैले मिलेर मालिकको स्तुति गाउन थाल्दछन् । स्तुति सुनेपछि उसलाई आफू ईश्वर वा पालनहार भएको भ्रम पर्छ । त्यसपछि आफ्नो त्यो ईश्वरीय सत्ता जोगाउन उ आफ्ना दास, दलाल र चम्चाहरु सहित षडयन्त्रमा निस्कन्छ र खुराफात गर्छ ।
राजनीति गर्ने मान्छे जनताको सेवक बन्नुपर्ने, बन्छ ईश्वर । मान्छेलाई ईश्वर बनाउने राजनीति आजको सबैभन्दा ठूलो संकट हो । यो समस्यालाई हामीले केही नेतामा लगेर केन्दित गर्यौं भने, त्यो देखावटी कुरा हुन्छ । समस्या जरामा छ, पातलाई दोष दिएर के हुन्छ ?
केही मान्छेहरु ठान्दछन्, पार्टी धेरै भए, त्यसैले अस्थिरता बढ्यो । तर यो गलत विश्लेषण हो । समाज कस्तो छ भन्ने कुराबाट कतिवटा पार्टी बन्छन् भन्ने कुराको निर्क्योल हुन्छ । हाम्रो समाज विविधतापूर्ण छ । वर्गहरु छन् । क्षेत्रीय विविधता छ । जातीय र भाषिक विविधता छन् । परिणाम– राजनीतिक दृष्टिकोणहरु एकीकृत, बृहत्तर र गहिरा छैनन् । यी विभाजित छन् । त्यसैले हामीलाई लोकतन्त्रमात्र भनेर पुग्दैन, यसलाई अनेक पुच्छर जोडेर बताउनुपर्छ । हामीलाई समाजवादमात्र भनेर पुग्दैन, यसलाई अनेक ढंगले अर्थ लगाउनुपर्छ । बस्तुतः अन्यथा अनेकौं अजेन्डाहरु प्रभावशाली भएको समाजमा अनेकौं पार्टीहरु हुन्छन् । यो स्वाभाविक हो ।
पार्टीहरु धेरै हुनु खासै चिन्ताको विषय होइन । यसले नराम्रो पनि गर्दैन । अहिलेको खास चिन्ताचाहिँ सबै पार्टीहरु उस्तै उस्तै देखिनु हो । सबै खराव हुँदै जानु हो । समस्याचाहिँ राजनीतिक स्कुलिङको हो । जुन पार्टी आए पनि अस्थिरताको कारक कसरी हुन्छन् ? नयाँ पुराना सबै दलहरु उसरी नै अंकगणितमा किन फस्छन् ? नयाँ पुराना सबै यो दरबार र त्यो दरबारको चक्कर काट्न किन बाध्य हुन्छन् ? नेपाली राजनीतिको चरित्र कसरी सत्तामुखी बन्यो ? यो चाहिँ अहिलेको चिन्ताको विषय हो ।
हाम्रो संसदीय अभ्यासमा देखिएको अर्को गम्भीर समस्या के भने, मान्छेहरु संसदलाई लक्ष्य ठान्दैनन् । यसलाई मात्र लक्ष्यमा पुग्ने खुट्किलो ठान्दछन् । सांसदहरुको लक्ष्य हुन्छ– मन्त्री बन्ने । त्यसले सांसदलाई नेताहरुको चाकडी गर्ने बनाउँछ । गुटहरुमा सक्रिय बनाउँछ ।
त्यसैले यसको समाधान गर्न आवश्यक छ । यसका लागि अनेक उपाय होलान् । जस्तो, सांसद नै मन्त्री बन्ने आजको प्रणालीलाई फेर्नपर्ला । शासकीय स्वरुपमा रुपान्तरण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यवस्था गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीले योग्यतम् मान्छेलाई संसद बाहिरबाट मन्त्रिपरिषद्मा नियुक्त गर्ने । र, सांसदहरु विधायिकी काममा पूर्णतः सक्रिय रहने । अहिलेलाई यो शासकीय स्वरुपलाई अझ उन्नत बनाई अहिलेका शासकीय दोषहरु हटाउन सकिएला ।
निश्चय नै स्थिर सरकार भयो भने त्यसले काम गर्छ । तर स्थिर सरकार भनेको के हो ? अहिले भरखरैमात्र नयाँ राजनीतिक गठबन्धन बन्यो । हाम्रा नेताहरुले प्रधानमन्त्रीका लागि अढाइ, एक र डेढ वर्षको सम्झौता गरे भनिँदैछ । यसको अर्थ आउने पाँच वर्षमा तीनजना प्रधानमन्त्री फेरिनेछन् । यो अस्थिर हो कि स्थिर हो ? नेताहरु भन्दैछन्– अब सरकारमा स्थायित्व आउँछ । उनीहरुले भनेको स्थायित्व के हो ? उहाँहरु मिल्दैमा स्थायित्व हुने हो ?
अर्कोतिर, वर्षमा ९० दिन संसद अवरुद्ध भएको इतिहास छ । मानौं, सधैँ अवरुद्ध हुने र परिणाम नदिने संसद् पाँच वर्ष चल्यो भने के त्यो स्थायित्व हो ? त्यसैले हामीले स्थायित्व खोज्नुपर्ने ठाउँ र गर्नुपर्ने बहस अर्कै छ । अजेन्डा अर्कै हो । जसलाई हामीले हाम्रो समग्र राजनीतिभित्र खोज्नुपर्छ ।
भन्न पर्दैन– देश, राज्य, राजनीति र सरकार अलग अलग चिजहरु हुन् । तर यिनिहरु अभिभाज्य पनि छन् । त्यसैले यहाँ अस्थिरता सर्वत्र छ । हामी कहिलेकाहीँ सरकार अस्थिर भएकाले सबै चिज गडबड भयो भन्ने निष्कर्ष निकाल्छौँ । तर त्यस्तो होइन । सरकार त राणाकालमा स्थिर थियो नि त । तर त्यतिबेला किन गडबड भयो ? कार्यकारी त पञ्चायतकालमा पनि स्थिर नै थियो । तर किन त्यसले हाम्रो मनलाई स्थिर बनाएन ?
सरकार स्थिर र अस्थिर हुनु मुख्य कुरा होइन । मुख्य कुरा हो राजनीतिक स्थिरता । मुख्य कुरा हो प्रणालिगत स्थिरता । मुख्य कुरा हो नागरिक जीवनको स्थिरता । सरकार कति टिक्यो त्यो महत्वपूर्ण होइन, सरकार कस्तो थियो त्यो महत्वपूर्ण हो । सरकार लामो हैन, जनमुखी हुनुपर्छ । अन्यथा, सरकार पाँच वर्ष चल्यो तर परिणाम दिएन भने के हुन्छ ? हाम्रो कर्मचारी प्रशासन स्थिर भएन भने के हुन्छ ? हाम्रो अर्थव्यवस्था स्थिर भएन भने के हुन्छ ? मुख्य कुरा, हामीले ल्याएको राजनीतिक ब्यवस्था स्थिर भएन भने के हुन्छ ? अथवा मान्छेको मन स्थिर भएन भने के हुन्छ ? यी सबैलाई स्थिर, जनमुखी र गतिशील बनाउने राजनीतिले हो । अतः राजनीति स्थिर हुन आवश्यक छ । व्यवस्था स्थिर हुनु आवश्यक छ । अन्यथा सबै कुरा अस्थिर राखेर सरकारमात्र स्थिर खाज्नु अर्थहीन कुरा हो ।
हाम्रो राजनीति कहाँ फस्यो भनेर गमिबस्दा मलाई लाग्छ, दुई तीनवटा कोणबाट बिषयलाई हेर्नुपर्छ होला । पहिलो त हाम्रो राजनीतिको ’जिन’ नै सत्ता, शक्ति र सम्पत्तिले भरिएको छ । राजनीतिक पार्टीहरु सत्ता, शक्ति र सम्पत्तिले रोगी भएका छन् । दोश्रो, जनताको पार्टीकरण भएको छ । मतदाताको पार्टीकरण आफैंमा एउटा संकट हो । मतदाताले स्वतन्त्र चिन्तन र विवेकबाट सोच्नुपर्छ । तेश्रो, विगतमा आलोचनात्मक वहस हुन्थ्यो । परिवर्तनको आगो थियो । पर्टीभित्र कार्यकर्ता बोल्थे, सडकमा मान्छेहरु बोल्थे । तर आज पार्टी र राज्यलाई जनस्तरबाट चुनौती कम हुँदै गएको छ ।
यसैगरी हाम्रो राजनीतिमा देखिएको अर्को समस्या के भने, यसले मान्छेमा उत्साह दिएको छैन । मान्छे निरास हुँदैछन् । निराश मान्छे जाने तिनवटा बाटो हुन्छन्, पहिलो निरास मान्छे पलायन हुनसक्छ । उ पलायन भएर चुपचाप बस्न सक्छ । दोश्रो निराश मान्छे अराजक भएर निश्किन सक्छ । उग्र, अराजक, असन्तुष्ट । तेश्रो निरास मान्छे विद्रोही बन्न सक्छ ।
आज हामीले हेर्यौ भने मान्छे निरास छ । त्यसैले उ अराजक बन्दैछ । मान्छेको बिद्रोही चेतना भुत्ते बन्दैछ । हामी समग्र राजनीतिलाई सुधार गर्न चाहन्छौ भने असन्तुष्टिलाई सचेत र अग्रगामी विद्रोहमा रुपान्तरण गर्न सक्नुपर्छ । पार्टीभित्रका असन्तुष्टिलाई पनि विद्रोहमा रुपान्तरण गर्न सक्नुपर्छ । जनताभित्रको असन्तुष्टिलाई पनि परिवर्तनकारी विद्रोहमा रुपान्तरण गर्न सक्नुपर्छ । विद्रोहको आगोले समस्याहरुलाई जलाउछ र राजनीतिलाई सफा गर्छ ।
किनभने, लोकतन्त्रमा विद्रोह ज्यादै महत्वपूर्ण विषय हो । त्यसलाई ध्वंसको रुपमा बुझ्नुहुँदैन । किनकि, सचेत विद्रोहहरु सिर्जनशील हुन्छन् । यो अर्थमा आज हामीले खाज्ने सरकारको स्थिरता होईन । मुख्य कुरा हो राजनीतिक स्थिरता । त्यसका लागि खोज्ने हो राजनीतिक पुनर्गठन । अन्यथा खराव सरकार स्थिर भयो भने खराबीहरु स्थिर बन्दछन् । खरावीहरुलाई पालेर हामी कहाँ जाने ?
राजनीतिक पुनर्गठन आफैंमा दीर्घकालीन प्रक्रिया हो । यसका लागि लामो समय लाग्छ । हामीले दुइटा प्रक्रियाबाट यसमा काम गर्नुपर्छ । एउटा, हाम्रा भुत्ते पार्टीहरुलाई धार लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्र पनि नयाँ पुस्ताको सचेत, रचनात्मक र अग्रगामी विद्रोह आवश्यक छ । त्यहाँ भित्रको असन्तुष्टिलाई निराशातिर होइन, विद्रोहलाई संगठित गर्नुपर्छ ।
अर्को कुरा, पार्टीबाहिर आम मान्छे लोकरिझ्याईँको पछि लागेका छन् । यो पनि निरासाकै अभिव्यक्ति हो । अब त्यसमा अल्झिनुहुँदैन । गम्भीर ढंगले नयाँ राजनीतिक विकल्पको बहस गर्नुपर्छ । नयाँ राजनीतिक विकल्प निर्माणका लागि संगठित प्रयत्न गर्नुपर्छ । अझ धेरै लोकतन्त्रका लागि विद्रोह । अग्रगमनका लागि विद्रोह । उन्नत परिणामका लागि विद्रोह । मलाई लाग्छ, नेपालमा ठूलो राजनीतिक पुनर्गठन आवश्यक छ । अर्थात, अग्रगमनको आँधी आवश्यक छ । आशा गरौं त्यो आँधी चाँडै आँउने छ ।
ट्वीटर- @dahalkeshab
प्रतिक्रिया