विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा मोरङबाट इन्स्पेक्टर (प्रहरी निरीक्षक)सहित ४ जना प्रहरी अनुसन्धान एवं छानबिनमा तानिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई कारबाहीको दायरामा ल्याइएको हो ।
घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनालाई बिहीबार राति मोरङको सुन्दरहरैँचास्थित विराट चोकबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।
अनलाइन जुवा खेल्ने र खेलाउनेसँग २० लाख रूपैयाँभन्दा बढी रकम लिएको आरोप उनीहरुमाथि छ । अनलाइन जुवाको ‘सेटिङ’ गर्ने र गराइदिनेबाट लिएको रकमसमेत बरामद भएको जानकारी स्रोतले दियो ।
इन्स्पेक्टर भट्टराईलाई निलम्बनको तयारी गरिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार ४ जना प्रहरीसहित केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको थियो । तर, उनीहरुका बारेमा केही खुल्न सकेको छैन ।
नियन्त्रणमा लिइएकाहरुलाई बिहीबार राति कोशी प्रदेश प्रहरी गण रानीमा राखिएको थियो । अहिले प्रदेश प्रहरी कार्यालय विराटनगरमा राखेर सोधपुछ भइरहेको स्रोतको भनाइ छ । ‘अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा लिँदै गर्दा नियन्त्रणमा लिइएको हो । त्यसपछि राति ९ बजेतिर गणमा लगेर राखियो,’ स्रोतले भन्यो, ‘अहिले प्रदेश प्रहरी कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ । थप कुरा खुल्न सकेको छैन ।’
प्रहरीले भने यसको पुष्टि गरेको छैन । प्रहरी अधिकारीहरुले पनि यस घटनालाई गोप्य राख्न चाहेका छन् । सार्वजनिक गर्न नचाहेका कारण यस प्रकरणमा उनीहरुको भूमिका नै शंकास्पद देखिएको छ । गम्भीर विवादमा परेका प्रहरीलाई जोगाउनका लागि कतै चलखेल त भइरहेको छैन ? भन्ने प्रश्न उठेको छ ।
प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले इन्स्पेक्टरसहितका प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको विषयमा आफूलाई केही जानकारी नभएको बताए । तर, नियन्त्रणमा लिएको भनिएका प्रहरीमाथि उनकै नेतृत्वमा छानबिन एवं अनुसन्धान भइरहेको स्रोतले बतायो ।
‘प्रदेशमा ल्याइएका ४ जना प्रहरीमाथि अनुसन्धान एवं छानबिन सुरु भएको छ । उनीहरुलाई एसएसपी साबकै कोठामा राखेर थप कुरा बुझ्ने काम भइरहेको छ,’ नेपाल प्रहरीका १ अधिकृतले भने, ‘एसएसपी साबले ढोका थुनेर कुरा बुझ्दै हुनुहुन्छ । धेरै कुरा त हामीलाई पनि थाहा छैन ।’
यस विषयमा बुझ्न खोज्दा प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले आफू कार्यक्रममा रहेको बताए । सबै कुरा प्रवक्तासँग बुझ्न उनले आग्रह गरे ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले व्यावसायिक अनुशासनविपरीत काम गरेका कारण इन्स्पेक्टरसहितका प्रहरीलाई नियन्त्रणमा लिइएको बताए । ‘प्रहरीको आचरणविपरीत काम गरेका कारण नियन्त्रणमा लिएर अनुसन्धान एवं छानबिन सुरु गरिएको छ । कुन घटनामा नियन्त्रणमा लिइएको हो भन्ने आइसकेको छैन,’ उनले भने, ‘म पनि बुझ्दै छु । जानकारी आइसकेपछि भनौंला ।’
यस विषयमा आफूले प्रदेश प्रहरी कार्यालय विराटनगरसँग जानकारी मागेको कार्की बताउँछन् । त्यसपछि भने उनी सम्पर्कमै आउन चाहेनन् । पटक–पटक गरेको फोन उठाएनन् । अनेक हिसाबले टार्ने काम गरेको र घटनाको वास्तविकता लुकाउन खोजेका कारण प्रहरी मुछिएको आर्थिक लेनदेनको विवादमा प्रहरी अधिकारीकै भूमिका शंकास्पद एवं विवादास्पद देखिएको हो ।
अर्कोतर्फ रकम लेनदेनको आरोपमा इन्स्पेक्टरसहित ४ प्रहरीलाई अनुसन्धान एवं छानबिनको दायरामा ल्याएको भोलिपल्ट शुक्रबार मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई हेडक्वार्टर (प्रहरी प्रधान कार्यालय) तानिएको छ । उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाइएको छ ।
लिम्बू प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए । मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एसपी कार्कीको जिल्ला प्रहरी प्रमुखका रुपमा २०८० फागुन २ गते सरुवा भएको थियो । फागुन ७ गते मोरङ हाजिर भएका थिए । उनलाई ८ महिनामै सरुवा गरिएको हो ।
रकम लेनदेनमा मुछिएका इन्स्पेक्टरसहितका प्रहरीलाई नियन्त्रणमा लिएलगत्तै एसपीको आश्चर्यजनक हिसाबले सरुवा भएको हो । यस प्रकरणमा एसपी कार्कीको ‘कनेक्सन’ छ कि छैन भनेर पुष्टि हुन बाँकी रहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया