कांग्रेसमा कलह : प्रदेश सभापति थापा भन्छन्,‘विधान बाहिर जाने छुट छैन’ (अन्तरवार्ता)

विहीबार, २० मंसिर २०८१
इटहरी : नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी मङ्सिर २२ गते प्रदेश राजधानी विराटनगरमा पहिलो प्रदेश सम्मेलनको आयोजना गर्दैछ । पार्टीको विधान अनुसार प्रत्येक वर्ष सम्मेलन हुनुपर्ने भएपनि अधिवेशन भएको तीन वर्षपछि पहिलोपटक आयोजना हुन लागेको हो । प्रदेश सम्मेलनको तयारी भइरहँदा कांग्रेसभित्र भने आन्तरिक कलह सुरू भएको स्पष्टै देखिन्छ । सम्मेलन नजिकिँदै गर्दा मङ्गलवार मात्रै विराटनगरमा नेता डा.शेखर कोइरालाको अगुवाइमा कोशी प्रदेशभित्रका पालिकाका सभापतिहरूको भेला भयो । मोरङ जिल्लाका पालिका समितिहरूको आयोजनामा गरिएको कार्यक्रमलाई १५ औँ महाधिवेशनमा डा. कोइरालालाई सभापति बनाउने तयारी स्वरूपको कार्यक्रमका रूपमा हेरिएको छ । केन्द्रीय कार्यालयले नै मान्यता नदिएको सो कार्यक्रमलाई कोइराला समूहका शीर्ष नेतृत्वहरूले सम्बोधन गर्दै केन्द्रीय कमिटिकै आलोचना गरेका थिए । बुधवार बन्द सत्रमार्फत सभापतिहरूलाई सङ्गठन सुदृढीकरणमा जुट्न प्रशिक्षण दिइए पनि संस्थापन पक्षले भने बहिष्कार गरेको अवस्था छ । अर्कोतर्फ १५ औँ महाधिवेशन आउन एक वर्ष मात्र बाँकी हुँदा शक्ति सङ्घर्षमा लडिरहने कांग्रेसभित्रको लडाई पुनः सुरू भएको हो ? भन्ने प्रश्न पनि खडा भएको छ । कांग्रेसभित्रको सङ्घर्ष र पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा कांग्रेस कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्वव थापासँग प्रदेश खबरका लागि खेमराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश ः नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलनको तयारी कस्तो भइरहेको छ ? नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलनको तयारी पूर्ण भइसकेको अवस्था छ । त्यसका लागि विभिन्न आठ ओटा उपसमितिहरू बनाएर काम भइरहेको छ । उद्घाटन २२ गते बिहान ११ बजे हुन्छ । यस सम्मेलनमा सबैलाई म आमन्त्रण पनि गर्दछु । हाम्रो श्रद्धेय सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नुहुनेछ । विधानसम्मत हाम्रो प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने हुन्छ । जसका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने तय भएको छ । विभिन्न कार्यक्रमहरू आए जसका कारण हामीले सार्नुपर्ने अवस्था पनि आएको हो । तेस्रो वर्षमा आइपुग्दा पहिलो सम्मेलन गर्दैछौँ । सम्मेलनमा हामी प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, र आर्थिक प्रतिवेदनमा छलफल गर्दछौँ । त्यसकारण हामी भव्यताका साथ कोशी प्रदेशको सम्मेलन सम्पन्न गर्नेछौँ । प्रदेशको सम्मेलन नजिकिँदै गर्दा यहाँहरू पार्टीभित्रको कलहमा फस्नुभएको छ ? तपाईँहरूको निर्देशन विपरीत अर्को समूहले मङ्गलवार मात्रै कार्यक्रम गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ? गुटको कुरा गर्दै गर्दा, गुट त सबै पार्टीमा छ । तर पनि गुट हुँदै गर्दा पार्टीको नियम, अनुशासन, विधानभित्रै रहेर नै पार्टीका काम कारबाही गर्नुपर्ने हुन्छ । तर, विधान विपरीतको कार्यक्रम मङ्गलवार भएको हो । त्यो भएकाले पनि हाम्रो उपस्थिति हुन नसकेको हो । पार्टीले नै विज्ञप्तिमार्फत कार्यक्रम होइन भनेर भनिसकेपछि र पत्राचार गरिसकेपछि नियम, अनुशासन, विधानबाहिर गएर गरिएका कामहरूका बारेमा के भनिरहनु पर्दैन होला नि ! तपाईँले विधानविपरीत भन्दै गर्दा पार्टीले सङ्गठन निर्माण गर्नका लागि कार्यक्रम गर्न पाउने लगाएका कुराहरू पनि विधानमा राखिएका छन् होइन र ? होइन । जस्तो अब पालिकाले आफ्नो कार्य क्षेत्रभित्र भेला, छलफल, अन्तरक्रिया कुनै पनि कामहरू गर्न सक्छ नि ! केन्द्रको पनि आफ्नो अधिकार छ, प्रदेशको आफ्नो अधिकार, जिल्लाको, क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, नगर गाउँहरू, वडाहरू रहेका छन् । र सबैको आ–आफ्नो अधिकार छन् । सबैले आफ्नो ठाउँमा कार्यक्रम गर्न सक्छ तर ती काम वा आफ्नो अधिकारको प्रयोग पनि त विधानभित्र बसेर गर्नुपर्यो नि हैन र ? त्यसो भए मङ्गलवारको कार्यक्रम कसरी विधानविपरीत भयो ? विराटनगरका पालिकाहरूले विराटनगरमै कार्यक्रम आयोजना गरेका छन् नि ? विराटनगर महानगरपालिकाको आयोजनामा कार्यक्रमको आयोजना भयो । महानगरपालिकाले कार्यक्रम गर्दै गर्दा उसको आफ्नो एरियाभित्र उसले गर्न सक्छ । तर, महानगर बाहिरका पालिका सभापतिहरूलाई बोलाएर उनीहरूलाई समेत उपस्थित गराएर उसकोसमेत संयुक्त रूपमा कार्यक्रम गराउने कुरा चैँ त्यो विधान विपरीत छ । त्यसो गर्ने हुँदा केन्द्रबाटै कार्यक्रम गर्ने भनेर स्वीकृति लिनुपर्ने हुन्छ । जस्तो कार्यक्रम नै होइन भनेर भन्यो । तर, कार्यक्रम भयो, अब यसमा चैँ तपाईँहरू के गर्नुहुन्छ ? होइन, हामीले के गर्ने, के नगर्ने भन्ने कुरा नै हुँदैन । यसलाई केन्द्रले नै के गर्छ भन्ने कुरा हो । त्यसकारण हामीलाई निमन्त्रणा भए पनि हामी उपस्थित हुन सकेनौँ । अर्कोतर्फ केन्द्रले नै कार्यक्रम होइन भनेर भनेको छ नि ? संस्थापन इतर समूहले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सङ्गठन चलायमान नभएको भातृ तथा सुभेच्छुक संस्थाहरूको महाधिवेशन नभएको पार्टीको पनि १५ औँ महाधिवेशनका लागि गर्ने कामहरू ढिला भइसकेको, नेतृत्वले चलायमान बनाउने कार्यक्रम नदिएको जस्ता कुराहरू राख्नुभएको छ । तपाईँहरू चैँ नेतृत्वमा बसेर के गरिरहनुभएको छ ? उहाँहरूका मागहरू चैँ सबै जायज मागहरू छन् । त्यो कुरामा त हामी सबैको कुरा पनि त्यही हो । समयमा महाधिवेशन हुनुपर्दछ भन्ने पनि हो । संस्थाहरूलाई क्रियाशील बनाउनुपर्दछ । जहाँ अधिवेशन भएको छैन, त्यहाँ अधिवेशन गर्नुप¥यो । सभापति ज्यूले भनिसक्नुभएको छ, समयमै विधानसम्मत अधिवेशन हुन्छ । जहाँसम्म पार्टीको कार्यक्रमको कुरा गर्नुहुन्छ भने पार्टीलाई शक्ति दिने र एक प्रकारको सञ्चार पैदा गर्ने भनेको कार्यक्रमले नै हो । कार्यक्रम बिनाको पार्टी, पार्टी हुँदैन पनि । तर, उहाँहरूले भनेजस्तो छैन नि ! हाम्रा कार्यक्रमहरू अहिले पनि चलिरहेको अवस्था छ । जस्तो पार्टीकै एक सय दिने कार्यक्रम चलिरहेको छ । जहाँ केन्द्रीय नेताहरू जिल्ला–जिल्ला पुगिराखेका छन् । जिल्लाले तल प्रत्येक क्षेत्रको कार्यक्रम गराइराखेको छ । प्रदेशहरूले सम्मेलन गरिराखेका छन् । पार्टीका बैठकहरू भइरहेका छन् कहाँ भएको छैन कार्यक्रम ? एउटा कार्यक्रम गरेर पार्टीले कार्यक्रम गरेन भनेर भन्नू त प्रचार र भाषण मात्रै हो । कांग्रेसमा एकले अर्कालाई स्वीकार गर्न नसक्नेसम्मको स्थिति आउने गर्दछ, यो अहिले देखिएको दृश्यले तपाईँहरू शक्ति सङ्घर्षमै लाग्नुभएको हो ? उहाँहरू महाधिवेशनको तयारीमा लाग्नुभएको भन्ने कुरा त उहाँहरूलाई नै सोध्नुपर्यो । तर, पार्टीभित्र संवादहीनता, गुट र फुटको अवस्था त पार्टीभित्र कहाँ छ त ? एउटा कार्यक्रम भयो भन्दैमा त्यस्तो ठूलो गुट खडा भयो भन्ने कुरा त कहाँ छ ? त्यो गलत हो । अलिक बढाइचढाइ गरेर समाचार सम्प्रेषण गर्ने काम पनि मैले देखिरहेको छु । कोशी प्रदेश सरकारकै कुरा गर्दा पनि संस्थापन इतर समूह अझै पनि कोशी प्रदेशमा सहभागी भइसकेको छैन । भागबन्डा पनि मिलाउन सक्नुभएको अवस्था छैन । यसले पनि यहाँहरू बीचको टकराब बढेको देखिँदैन र ? त्यस्तो केही छैन । हामीले पाएको मन्त्रालयमा हामीले फुल फेजमा काम गरिरहेका छौँ । र, प्रदेश सरकार पनि गतिका साथ अगाडि बढेको छ । होइन स्वास्थ्य मन्त्रालयमा अझैँ यहाँहरूले मन्त्री दिन सक्नुभएको छैन नि ? इतर समूहको भागमा परेको भनिएको मन्त्रालयका सन्दर्भमा तपाईँहरूले अझै मिलाउन सक्नुभएको छैन ? स्वास्थ्य मन्त्रालयमा अहिले हाम्रै पार्टीको मन्त्रीले काम गरिरहनुभएको छ । आवश्यकताको महसुस भयो भने पार्टीले अर्को पठाउन पनि सक्छ । जहाँसम्म भागबन्डाको कुरामा हामीले त एक मन्त्री र राज्यमन्त्री दिने भनेका छौँ नि हैन र ! अब भागबन्डा पाउनेले चैँ मिलाउन नसकेको हुन सक्दछ । गुट कै कुरा गर्दाखेरी गुटभित्रै कुरा नमिलेर पठाउन नसकेको हुनसक्छ । उहाँहरूले नाम पठाउन साथ त सरकारले नियुक्त गरिहाल्छ नि ! यो पनि – विराटनगरमा नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहको भेला : कुन नेताले के भने ? यो पनि – कांग्रेसमा किचलो : केन्द्रको निर्देशनविपरीत डा. शेखर समूहको भेला विराटनगरमा

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार