तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

मंगलबार, ०२ पुस २०८१
काठमाडौं : ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई जनही तीन महिना कैद र एक लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना हुने मंगलबार फैसला गरेको हो । दोषी ठहर भएकामध्ये दाहाल सेवानिवृत्त भइसकेका छन् । दाहालसँगै दोषी ठहर हुनेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ र तत्कालीन सबइन्जिनियर लोकबहादुर ठकुराठी छन् । उनीहरूमाथि आर्थिक वर्ष ०७४।७५ मा गाउँपालिकामा सञ्चालित बीपी चोक, मिश्रभञ्ज्याङ, जौखोरिया, सिलुङ, चिलाउने र फतानेवारी सडकखण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको आरोप लागेको थियो । अदालतले कामभन्दा बढी मूल्यांकन गरेर परिमाणको झुटा बिल भरपाइ गरेको ठहर गरेको हो । अख्तियारले उनीहरूविरुद्ध जनही नौ लाख ४४ हजार १९५ बढी बिगो असुलउपर गर्न मागदाबी गर्दै ०८१ वैशाख २० मा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार