काठमाडौँ : गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त पाँच राजमार्गका विभिन्न खण्डमा स्थायी प्रकृतिबाट पुनर्निर्माण गर्न सडक विभागले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन। यसले गर्दा आगामी वर्षायाममा ती सडकमा यातायात प्रभावित हुने देखिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले गत असोजमा आएको वर्षाले क्षति पुर्याएका पाँच प्रमुख राजमार्गका विभिन्न खण्डमा स्थायी प्रकृतिको पुनर्निर्माण गर्न अर्थ मन्त्रालयसँग २० अर्ब रूपैयाँको स्रोत सुनिश्चित गर्न माग गरे पनि अहिलेसम्म नदिएको बताए।
‘अर्थले स्रोत सुनिश्चितता नदिएका कारण हामीले स्थायी प्रकृतिबाट सडक पुनर्निर्माण गर्न प्रक्रिया अघि बढाएका छैनौं,’ उनले भने, ‘अर्थले स्रोत सुनिश्चितताका लागि व्यवस्था मिलाइरहेको भन्ने गरेको छ तर धेरै ढिलो भइसकेको छ। अर्थले पुनर्निर्माणका लागि एकमुष्ट माग्न भनेपछि हामीले त्यसै गर्यौं तर रकम दिन भने मानेको छैन।’
तर अर्थ मन्त्रालयका सहप्रवक्ता अम्बिकाप्रसाद खनालले भौतिकबाट २० अर्ब रूपैयाँ माग आएको बुझिए पनि यो विषय प्रक्रियामै रहेको बताए। ‘भौतिकले पठाएको मागको विषय प्रक्रियामै रहेको मैले बुझेको छु,’ उनले भने।
अर्थका अर्का एक सहसचिवले भौतिकलाई दिन २० अर्ब पठाउन पैसा जुटाउने काम भइरहेको बताए।
भत्किएको खण्डमा विभागका प्राविधिक कर्मचारीहरूले अस्थायी मर्मत गरी काम चलाइरहेका छन्। ग्राभेल, ह्युमपाइप, बेलिब्रिज तथा माटो पुरेर तत्कालका लागि कामचलाउका रूपमा सडकहरूमा सवारी सञ्चालन भइरहेका छन्। तर स्थायी प्रकृतिबाट काम गर्ने गरी टेन्डर आह्वान भने कुनै पनि ठाउँमा भएको छैन।
जसका कारण आगामी वर्षायाममा सवारी आवागमन ठप्प हुने निश्चित भएको प्राविधिक कर्मचारीहरू बताउँछन्। वर्षाले सबैभन्दा बिपी राजमार्गमा क्षति पु¥याएको छ। यसैगरी कान्ति, अरनिको, मेची र मध्यपहाडी राजमार्गका विभिन्न खण्ड भत्किएका छन्। मेची राजमार्गको हेवाखोलाको पुल भत्किएको छ।
भत्किएको पुल पुनर्निर्माण गर्न विभागले अहिलेसम्म टेन्डर आह्वान गरेको छैन। बिपी राजमार्गलाई सडक डिभिजन भक्तपुर र सडक डिभिजन खाल्टे सिन्धुलीले हेर्ने गरेका छन्।
यी राजमार्गलाई स्थायी प्रकृतिबाट पुनर्निर्माण गर्न नौ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गर्न सडक डिभिजन भक्तपुर र सिन्धुलीले माग गरेका छन्। तर अहिलेसम्म अर्थले स्रोत सुनिश्चितता नदिएकाले काम सुरु नभएको सडक डिभिजन सिन्धुलीका प्रमुख पारसमणि हमालले बताए। उनका अनुसार आगामी फागुनको पहिलो साताभित्र टेन्डर आह्वान भएन भने स्थायी प्रकृतिको पुर्निर्माणको काम सुरु गर्न यो वर्षायामभित्र सम्भव छैन।
‘टेन्डर आह्वान भए पनि काम सुरु गर्न कम्तीमा तीन महिना लाग्छ। त्यसैले फागुनको पहिलो साता टेन्डर भएन भने आउने वर्षायामसम्म काम नै सुरु हुँदैन। जसले गर्दा त्यतिबेला यातायात सञ्चालन प्रभावित हुने निश्चित छ,’ उनले भने।
बिपी राजमार्गलाई स्थायी पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरले अर्थसँग सात अर्ब ७५ करोड तथा सडक डिभिजन सिन्धुलीले एक अर्ब २५ करोड माग गरेका छन्।
शनिबार मात्र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशव शर्मा, विभागका महानिर्देशक रामहरि पोखरेललगायत एउटा ठुलै टोली बिपी राजमार्गको निरीक्षण गर्न सिन्धुली पुगेको थियो।
विभागका एक प्राविधिक कर्मचारीका अनुसार बिपी राजमार्गमा मन्त्रीले निरीक्षण गरेको यो दोस्रो पटक हो भने सचिव र महानिर्देशकले निरीक्षण गरेको यो चौथो पटक हो। निरीक्षणका क्रममा मन्त्री दाहालले तत्काल पुनर्निर्माणको काम अघि बढाउन सडक डिभिजन भक्तपुर र सडक डिभिजन सिन्धुलीलाई निर्देशन दिएका थिए।
‘मन्त्रीज्यूले स्थायी प्रकृतिबाट पुनर्निर्माण गर्न तत्काल काम अघि बढाउनुहोस्, अर्थबाट स्रोत सुनिश्चितता गराउने प्रक्रिया अघि बढेको छ भनी निर्देशन दिनुभएको छ,’ सडक डिभिजन भक्तपुरका आयोजना प्रमुख सुमन योगेशले भने, ‘अस्थायी प्रकृतिका काम भने तत्काल थाल्दै छौं। यसका लागि पनि हामीलाई सात करोड चाहिन्छ। त्यसमा ६ करोड भक्तपुर डिभिजन र एक करोड सिन्धुली खण्डलाई चाहिन्छ।’
अस्थायी प्रकृतिको भए पनि तत्काल काम सुरु गरे आगामी वर्षायाममा कमसेकम सवारीसाधन अवरोध नहुने उनको भनाइ छ। अस्थायी प्रकृतिको काम सुरु गर्न सडक विभागले ६ करोड रूपैयाँ विनियोजन गर्ने आश्वासन दिएको पनि उनको भनाइ छ।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार वर्षाले क्षति पुर्याएका बल्खु–दक्षिकाली, थानकोट–चित्लाङ, सीतापाइला–धार्के तथा साँखु–भोटेचौर खण्डको पुनर्निर्माण गर्न डिभिजनले अर्थसँग ६८ करोड रूपैयाँको स्रोत सुनिश्चित गर्न माग गरेको छ तर अर्थले अहिलेसम्म ती खण्डमा पुनर्निर्माण गर्न स्रोत सुनिश्चित गरेको छैन। त्यसबाट आगामी बर्खा यामभित्र ती खण्डमा स्थायी पुनर्निर्माण हुने सम्भावना एकदमै कम भएको उनको भनाइ छ।
विभागका एक उच्च कर्मचारी भन्छन्, ‘अत्यावश्यक परेका ठाउँमा र पुनर्निर्माण नगरी नहुने सडकमा पुनर्निर्माण गर्न अर्थले स्रोत सुनिश्चि गरेको छैन तर माननीयज्यूले सिफारिस गरेका सडकहरूमा भने अर्थले तत्कालै बजेट थप गरेर स्रोत सुनिश्चितता गरेको छ।
कहीँ रकमानान्तर गरेर माननीयज्यूलाई खुसी गराउन खोजिएको छ भने कहीँ बहुवर्षीय योजना बनाई स्रोत सुनिश्चित गरिएको छ। राष्ट्रिय आवश्यकताभन्दा पनि माननीयज्यूलाई खुसी गराउन खोजिएको देखिन्छ।’
गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण देशभरि २१ किलोमिटर सडक भत्किएको थियो। यसैगरी पाँच वटा ठुलो पुलमा क्षति पुगेको थियो। यसबाहेक अन्य थुप्रै ठाउँमा अन्य सानातिना क्षति भएका थिए। वर्षाले अरनिको राजमार्गको बाह्रबिसे–दोलालघाट–धुलिखेल खण्डलगायत विभिन्न ठाउँमा क्षति पुर्याएको थियो।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया