आर्थिक क्षेत्रको दुरवस्थाले जन्माएको चिन्ता

सोमबार, १५ फागुन २०७९
ऋषभ भट्टराई यतिबेला राजनीतिक नेतादेखि सर्वसाधारणसम्म एउटै चिन्ता देखिन्छ– मुलुकको अर्थव्यवस्था निकै कमजोर अवस्थामा छ । औद्योगिक क्षेत्रको उत्पादनमा ह्रास आएको छ । उपभोक्ताको क्रय शक्ति क्षय भएको अवस्था छ । समग्रमा मुलुकको व्यापार घाटा बढ्ने क्रम अझ तीव्र बनेको छ । किन यस्तो भइरहेको छ रु यसको ठ्याक्कै एउटै सोझो उत्तर भेट्न मुस्किल छ । विभिन्न आयाम छन्, जसले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पार्छन् । तिनको विश्लेषण हुन जरुरी छ । वास्तविक क्षेत्र, सरकारी वित्त क्षेत्र, वित्तीय बैंकिङ क्षेत्र र वाह्य क्षेत्रको वर्तमान अवस्थाले नै देशको अर्थतन्त्रको समग्र अवस्था प्रतिबिम्वित गर्छ । तथ्यांकअनुसार आन्तरिक उत्पादनमा ह्रास आएको छ । बस्तु तथा सेवा व्यपार घाटा यथावत् छ । उद्योगको औसत उत्पादन क्षमता ३० प्रतिशतभन्दा तल छ । दैनिक उपभोय वस्तुको आयातलाई अपेक्षित रुपमा कम गर्न सकिएको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को ६ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वैदेशिक व्यापारतर्फ कूल वस्तु निर्यात ८० अर्ब ८१ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भन्दा समीक्षा अवधिमा कूल वस्तु निर्यातमा ३२ प्रतिशतले कमी आएको हो । चालू आर्थिक वर्षको ६ महिनामा आयात ७९२ अर्ब ६७ करोड रुपैयाँ छ । आयात निर्यातको अनुपात करिब ९०।१० छ। बस्तु व्यापार घाटा ७११ अर्ब ८६ करोड छ । समीक्षा अवधिमा खुद सेवा आय ३१ अर्ब २७ करोडले घाटामा छ । भ्रमण आय करिब ११७ प्रतिशतले वृद्धि भई २८ अर्ब ८ करोड रहँदा भ्रमण व्यय ५८। ५ प्रतिशतले बढी ५१ अर्ब ४५ करोड छ । यसमध्ये शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड छ । शिक्षातर्फको व्यय अघिल्लो वर्षको सोही अवधिको भन्दा झण्डै दोब्बर हो। वार्षिक रुपमा विदेशिने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन । फागुन १३ गतेसम्मको तथ्यांक अनुसार राजस्व संकलन करिब ७।५ महिना व्यतीत हुँदा यो वर्षको लक्षको ४० प्रतिशत पनि पुगेको छैन । राजस्वले चालु खर्च समेत धानेन । राजस्व संकलनभन्दा साधारण खर्च करिब २० अर्ब बढी छ। वैदेशिक अनुदान लक्षको १० प्रतिशतभन्दा तल छ । पुँजीगत खर्च लक्षको २० प्रतिशतभन्दा तल छ । कूल आय लक्षको ४० प्रतिशत भन्दा कम छ । चालू खर्च मात्र पनि राजस्वले नधान्दा पुँजीगत खर्च र वित्तीय व्यवस्थापन कसरी गर्ने होरु स्थिति जटिल बन्दैछ । लघु वित्तका ऋणीका समस्याले समग्र बजारको अवस्थालाई प्रतिबिम्बित गर्छ । लघु वित्तदेखि बैंकहरुको अवस्था खतरातर्फ जाँदैछ । ऋणीको ऋण तिर्नसक्ने क्षमतामा गिरावट भइरहेको छ । जसले सम्पत्तिको गुणस्तरमा कमी आउने छ । खराब कर्जाको मात्रामा वृद्धि हुने देखिन्छ । प्रकाशित खराब कर्जाको तथ्यांकको विश्वासनीयतामा प्रश्नैप्रश्न छन् । कडा नियमन र कडा वित्तीय अनुशासन भएका देशको भन्दा न्यून खराब कर्जाको मात्रा नेपालमा रहेकोमा अन्तर्राष्ट्रिय वित्तीय निकायहरुले प्रश्न उठाएका छन् । हाम्रो देशमा समाजिक मनोविज्ञान सही छैन । हाकाहाकी ऋण नतिर्ने र नतिर्न उकास्ने वित्तीय अराजकताको चुनौती समेत वित्तीय क्षेत्रले सामना गर्नु परेको छ । यस्तो दुरवस्थालाई राजनैतिक अवसरमा परिणत गर्ने तिकडमबाजी र कुरो बङ्ग्याउने अराजक शैलीले अन्ततः कसैको हित गर्दैन । वित्तीय स्थायित्वका लागि सस्तो लोकप्रियता ठूलो चुनौती हो। जिम्मेवार राजनीतिक दल अराजक भीडको क्षणिक सदभाव पाउने लोभबाट मुक्त भई थप जिम्मेवार बन्नुपर्छ । –राष्ट्रिय बाणिज्य बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख लेखकको यहाँ उल्लेखित प्रसंग उनका निजी विचार हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार