विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन सुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन् ।
उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन् ।
उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने तयारी गरेका छन्। आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनले बताएका छन् ।
उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदय रोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जङ्गली जनावरको संरक्षणका लागि जनावरमैत्री जङ्गल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया कोरिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशनमा बस्न लागेका हुन् ।
Discussion about this post