नवलपरासी :नाला निर्माणका क्रममा पुरिएर ज्यान गुमाएका तीन मजदुरका परिवारलाई कावासोती नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । मृतकका परिवार–आफन्त र कावासोती नगरपालिकाबीच शुक्रबार १० बुँदे सहमति भएपछि आन्दोलन पनि स्थगित भएको छ ।
सहमतिअनुसार मृतकका बालबालिकाको नाममा पाँच लाखको मुद्दती खाता खोलिदिने, पाँच लाख राहतस्वरूप उपलब्ध गराउने, काजकिरिया खर्चका लागि तत्काल ५० हजार उपलब्ध गराउने र शव व्यवस्थापनका लागि लाग्ने खर्च नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यसैगरी, मृतकका परिवारलाई रोजगारको व्यवस्था गर्ने, मृतकका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने सहमति भएको छलफलमा सहभागी सुनमाया मगरले बताइन् ।
फलफूल चोकमा कावासोती नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर बिहीबार कावासोती– ५ लक्ष्मीनगरकी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको ज्यान गएको थियो । निर्माणाधीन नाला (ढल) निकासीका लागि ह्युमपाइप राख्ने क्रममा माटोको ढिस्को खसेपछि उनीहरू पुरिएका थिए । कांग्रेस कावासोतीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानबिन गर्न माग गरेको छ ।
दिनभर तनावग्रस्त : चार प्रहरी घाइते, ४५ राउन्ड अश्रुग्यास प्रहार
मजदुरको ज्यान गएपछि कावासोती शुक्रबार दिनभर तनावग्रस्त रह्यो । एउटा टोली नगरपालिकामा जनप्रतिनिधिसँग छलफलमा थियो भने अरू बाहिर प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारीले कावासोती नगरपालिकाको कार्यालय, मेयर विष्णुप्रसाद भुसाल र व्यवसायी सञ्जय श्रेष्ठको घर तथा केही व्यवसायीका पसलमा तोडफोड गरे ।
प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । चार प्रहरी घाइते भएका छन् । यसबीचमा ४५ राउन्ड अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
कावासोती– ५ की स्थानीय रमिला भुजेलले पनि घटना घट्नुमा कुनै न कुनै पक्षको कमजोरी भएको हुँदा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । विश्व बैंकको सात करोड लगानीमा कावासोतीका विभिन्न वडामा नाला निर्माणलगायतका काम भइरहेको छ । ३ फागुनमा बजेट स्वीकृत भएर आएको थियो । उपभोक्ता समितिसम्म सम्झौता हुँदा ३० वैशाखसम्मको समय गुज्रेको देखिन्छ ।
कसरी भयो घटना ?
बिहीबार नालाको तल्लो भागमा पाँच महिला मजदुर डिपिसीको काम गर्दै थिए । दिउँसो वर्षा पनि भएको थियो । नाला खन्दा निस्केको माटाको ढिस्को नालाछेउमै पहाडझैँ थुपारेर राखिएको थियो । साँझ ६:४० बजेतिर ढिस्को खसेपछि पाँचमध्ये दुईजना भाग्न भ्याए, तर तीनजना हेर्दाहेर्दै पुरिए । पुरिएकालाई उद्धार गरेर मध्यविन्दु जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ‘उपभोक्ता समितिले ठेक्का लगाए । ठेकेदारले अलि सावधानी अपनाउनुपर्ने हो, त्यसो गरेको देखिएन । अनि खाडल पनि आवश्यकताभन्दा बढी खनिएको रहेछ,’ कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले भने ।
Discussion about this post