काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठुलो योगदान रहेको बताएका छन् ।
पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको बताएका हुन् ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तर विरोध र सङ्कटहरू समाधान हुन सक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्त्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यों । यसका लागि पुष्पलालको ठुलो योगदान छ भन्ने मलाई लाग्छ ।’
राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरणको त्यही सूत्र समातेको बताए ।
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सु विचारित ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको बताए ।
उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे । राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायत इतरका शक्तिहरू मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा काँग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनः स्थापना सम्भव भएको उल्लेख गरे ।
उनले पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै भने, ‘पुष्पलाल पञ्चायतका विरुद्धमा सङ्घर्ष गरिरहेका काँग्रेस र कम्युनिस्टका कार्यकर्तालाई समान स्नेह गर्नुहुन्थ्यो । हामी बिपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएको थियौँ । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा को–सँग सम्पर्क गर्ने भन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाइले भनेको है भनेर पनि भन्नुभयो ।’
उनले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठुलो बलिदानबाट आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए । उनले नेपालको संविधानले वास्तविक रूपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे ।
Discussion about this post