इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सरकार सधैँ किसानहरूको साथमा रहेको बताएका छन् । बिहीबार इटहरी १ स्थित कामधेनु दुग्ध सहकारी संस्थाको रजत जयन्तीको अवसरमा कार्कीले प्रदेश सरकार किसानहरूको समस्या सम्बोधनमा रहेको बताएका हुन् ।
‘हामीले प्रदेशभरका किसानहरूको सर्वोत्तम हितका लागि काम गरिरहेका छौँ,’ उनले भने, ‘दुग्ध लगायत कृषिजन्य उत्पादनको बिक्री तथा वितरणका लागि प्रदेश सरकारले सहजीकरण गर्छ ।’
कृषिजन्य वस्तुहरूको उत्पादन बिक्री वितरणका लागि प्रदेश सरकारले निमार्ण गरेको कानुन पुरानो भएको र त्यसलाई संशोधन र परिमार्जन गर्ने उनको भनाइ छ । चालू आर्थिक वर्षमा नयाँ कानुन निर्माणका लागि पहल गरिने उनले बताए ।
कोशी प्रदेशमा अहिलेसम्म ‘मिल्क होलिडे’ नभएको र यसो हुनुमा कामधेनुजस्ता उद्योगहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रशंसा गरे ।
कार्यक्रममा यस्तै प्रदेश सांसद रेवतीरमण भण्डारीले कृषि क्षेत्रमा राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताए । उत्पादनको क्षेत्रमा काम गर्ने कामधेनुजस्ता उद्योगहरूले रोजगारीको सृजना गरेर देशलाई योगदान दिएकोसमेत भण्डारीले बताए ।
इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले कृषकहरूको नाम भँजाएर पहुँचका आधारमा सुविधाको दुरुपयोग हुने गरेको बताए ।
‘वास्तविक कृषकहरूले अहिले कुनै कृषक सुविधा लिनु परेमा त्यो असम्भव जस्तै छ । तर, कृषकको नाममा कृषि पेसामा संलग्न नै नभएका व्यक्तिहरूले भने पहुँचका आधारमा कृषक सुविधा लिइरहेको पाइन्छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यसको नियमन कसले गर्ने ? कृषकको नाम दुरुपयोग गरी सुविधा उपभोग गर्नेमाथि कारबाही गर्न आवश्यक छ ।’
कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी सघंका अध्यक्ष अम्बरबहादुर कुँवर, विभिन्न डेरी तथा उद्योगी व्यवसायीहरूले कामधेनु दुग्ध विकास सहकारी संस्थाको रजत जयन्तीको अवसरमा बधाई तथा शुभकामना दिएका थिए ।
कामधेनु दुग्ध विकास सहकारी संस्थाले २५ औ वार्षिक उत्सव मनाउन पाउनु सुखद भएको संस्थाका अध्यक्ष यादप ढकालले बताए ।
‘हामीले सुखद रूपमा २५ औँ वार्षिक उत्सव मनाएका छौँ । संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
सहकारीले २५ औ वार्षीक उत्सव तथा रजत जयन्तीको अवसरमा विभिन्न विधामा कृषक, दुग्ध वितरक तथा सङ्कलकहरूलाई नगदसहित सम्मानसमेत गरेको थियो ।
सो अवसरमा असल कृषक पुरस्कार, ठूला व्यवसायी कृषक पुरस्कार, सदस्य विस्तार कार्यक्रममा योगदान, असल बिक्रेता पुरस्कार, कर्मचारी तथा दीर्घ कर्मचारी पुरस्कारलगायत विधामा सम्मान गरिएको थियो ।
Discussion about this post