काठमाडौँ : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर बालेन शाहमाथि प्रश्न उठाएको छ । महानगर क्षेत्रका ‘नदी किनार’ को विवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै मेयर बालेन्द्र साहको गतिविधिमाथि प्रश्न उठाएको हो ।
शुक्रबार कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सभापति निलकाजी शाक्य र २०७९ को स्थानीय तह निर्वाचनमा मेयरका प्रत्याशी सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौँका मेयर बालेन साहको गतिविधिमाथि प्रश्न उठाएका हुन्।
महानगर क्षेत्रमा पर्ने बागमती, विष्णुमती, धोबीखोला, टुकुचालगायतका नदी किनारबाट दायाँबायाँ २० मिटर छोडी मात्र संरचना निर्माण गर्न सकिने नेपाल सरकारको २०६५ मंसिर १ गतेको निर्णयबारे विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, सर्वोच्च अदालतबाट २०८१ साउन २४ गते थप २० मिटर मापदण्डसहितको पालना गर्न महानगरलाई उत्प्रेषणयुक्त आदेशप्रति कांग्रेस सम्मान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
तर, त्यो निर्णयले काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू पर्ने भन्दै त्यसले काठमाडौंको वासस्थान र सम्पदा लोप हुने खतरा बढेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस निर्णयले स्थानीय वासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिक सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लोप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली कांग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरबासीहरूको हक हितमा समर्पित रहनुपर्ने, नगरबासीहरूको पक्षमा कार्य गर्नुपर्ने काठमाडौं महानगरका जननिर्वाचित प्रमुखको, हालसम्मको गतिविधि र निर्णयहरू नगरबासीहरूको पक्षमा काम नगरेको स्पष्ट हुन्छ ।’
मेयर साहले कार्यपालिकाको बैठकमा छलफलसमेत नगरी एकल निर्णय गरेर पत्रिकामार्फत सूचना सार्वजनिक गरेर नगरबासीलाई आतङ्कित पारेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाले नगरवासीहरूलाई आतङ्कित बनाएको हुनाले महानगर प्रमुखको उक्त कार्यप्रति खेद प्रकट गर्दछौँ।’
Discussion about this post