विराटनगर/लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा आइतबार साँझ मोरङको रंगेलीमा प्रहरीले चलाएको मोटरसाइकल दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जना प्रहरी घाइते भएका छन् ।
लखेटेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको प्रदेश १–०२–०४१ प १०५५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परेर इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी हवल्दार मनी तामाङ र सहायक हवल्दार धर्मध्वज कार्की घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
मोटरसाइकल सहायक हवल्दार कार्कीले चलाएका थिए । दुर्घटनामा परेर मोटरसाइकलमा पनि सामान्य क्षति पुगेको छ । सामान्य अवस्थाका दुवै घाइतेलाई उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरिएको डीएसपी दाहालले बताए । यद्यपि, प्रहरीले लागूऔषधसहित कारोबारीलाई भने नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा दक्षिणबाट उत्तरबाट जाँदै गरेको मे २ प १३२९ नम्बरको मोटरसाइकललाई प्रहरीले रंगेली–कानेपोखरी भित्री सडकखण्डअन्तर्गत रंगेली नगरपालिका–८ बेदमारी पुलबाट नियन्त्रणमा लिन खोजेको थियो । तर, रोक्न खोज्दा खोज्दै प्रहरीलाई छलेर साँझ ५ः४० बजेतिर उक्त मोटरसाइकल फरार भयो ।
त्यसलाई लखेट्दै पछ्याउने क्रममा प्रहरीले चलाएको अर्को मोटरसाइकल दुर्घटनामा परेको हो । तर, सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३५ वर्षीय सविन खनाललाई पक्राउ गर्न सफल भयो ।
डीएसपी दाहालका अनुसार खनालको साथबाट लागूऔषध करिस्पास १ सय १९ ट्याब्लेट, नाइट्राभेट १ सय १५ ट्याब्लेट र स्कुट १८ बोतल बरामद भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खनालले लागूऔषध भारतदेखि खरिद गरेर ल्याएको खुलेको छ । प्रहरीका अनुसार लागूऔषधको कारोबारमा संलग्न उनी सेवनकर्तासमेत हुन् । खनाललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको बताउँदै दाहालले खनालविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने जानकारी दिए ।
Discussion about this post