विराटनगर : उपचाररत अस्पतालबाटै फरार भएका बलात्कार (जबरजस्ती करणी) मुद्दाका कैदीलाई पक्राउ गरेर मोरङ प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिका–८ मधुमारामा घर भइ विराटनगर–४ पुलचोकमा बसोबास गर्दै आएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनी विराटनगरको कोशी अस्पतालबाट फरार भएको एक सातापछि पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले अहमदलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट पक्राउ गरेको हो ।
उनी बिहान ५ः३० बजेतिर पक्राउ परेको प्रहरीले जनाएको छ । अहमदलाई पक्राउ गर्न इन्सपेक्टर थापाले मिहिनेत गरेका थिए । प्रहरी अहोरात्र खटिएकै कारण अन्ततः सफलता हात परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
फरार भएपछि अहमद भारत गएर लुकिछिपी बसेको हुनसक्ने प्रहरीको आशंका छ । तर, सीमा क्षेत्रमा निगरानी गरेर बसिरहेको प्रहरी भारतबाट नेपाल छिरेका उनलाई पक्राउ गर्न सफल भएको हो । भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा फेला पारेर पक्राउ गरिएको एसपी कार्कीले बताए । कैदी भागेपछि तनावमा परेको प्रहरीले सबैतिर समन्वय गरेर खोजी तीव्र पारेको थियो ।
अहमदविरुद्ध कारागार ऐन, २०७९ बमोजिम कैदी भागेको कसुरमा मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जानकारी कार्कीले दिए । उक्त कसुर ठहर भएमा थप ५ वर्ष कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमदलाई पेट दुख्ने समस्याले बिरामी परेको भन्दै उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अवस्थामै उनी साउन १७ गते बिहान फरार भएका हुन् ।
एसपी कार्कीका अनुसार शौचालय जाने क्रममा निगरानीमा खटिएका प्रहरीलाई धकेलेर लडाउँदै उनी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अहमदको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव भण्डारी र जवान ज्ञानेन्द्र कटवाललाई खटाएको थियो । दुवै जनालाई निलम्बन गरिसकिएको छ । उनीहरुविरुद्ध कारागार ऐनविपरीतको कसुरमा मुद्दा चलाउन अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । त्यो कसुर ठहर भएमा ३ वर्ष कैद वा ३० हजार रूपैयाँ जरिवाना अर्थात दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
कैदी फरार भएको घटना छानबिन गर्न ३ सदस्यीय समिति बनाइएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा बनााइएको छानबिन समितिको सदस्यमा इन्सपेक्टर रामप्रसाद खनाल र वरिष्ठ सइ देवेन्द्र सुवेदी सदस्य छन् ।
समितिले घटनाको छानबिन गरेर यथार्थ पत्ता लगाउँदै प्रतिवेदन तयार पार्ने छ । विभिन्न कोणबाट घटनाको छानबिन भइरहेको एसपी कार्कीले बताए ।
अहमद करिब डेढ वर्षदेखि मोरङ कारागारमा थिए । उनलाई जिल्ला अदालत मोरङले १२ वर्ष कैद सजाय र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो ।
अदालतले अहमदलाई २०८० साल चैत १६ गते कसुरदार ठहर गरेको हो । सजाय निर्धारण गत वैशाख ७ गते गरिएको थियो । यसअघिको कसुरमा अदालतको फैसला अनुसार कैद भुक्तान गरिरहेका उनीविरुद्ध नयाँ कसुर पनि जोडिएपछि सजायमा ५ वर्ष थप हुने देखिन्छ ।
पीडितसँग नियमित सम्पर्क
प्रहरीको अनुसन्धानबाट मोरङको बेलबारीकी १५ वर्षीया बालिकासँग अहमदको प्रेम सम्बन्ध रहेको खुल्यो । आफूसँग प्रेम सम्बन्धमा रहेकी बालिकालाई भगाएर बिहे गरेपछि २०७९ फागुन ४ गते उनलाई प्रहरीले पक्राउ गर्यो ।
उनीविरुद्ध बालिकाका अभिभावकले किटानी जाहेरी दिए । प्रहरीले जबरजस्ती करणी मुद्दा चलायो । त्यही मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
उमेर नपुगेकी बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेपनि प्रचलित कानुनले त्यसलाई बलात्कार मान्छ । बालिकालाई बलात्कार गरेको ठहर भएर कैद सजाय भुक्तान गरिरहेका उनी पीडित भनिएकी बालिकासँग नियमित सम्पर्कमा रहेको पत्ता लागेको छ ।
पीडित बालिका अहमदको नियमित सम्पर्कमा रहेको र कारागारमा हुँदा पनि भेट्न पटकपटक पुगेको खुलेको हो ।
ती बालिकालाई ‘फलो’ गरिरहेको प्रहरी अन्ततः अहमदसम्म पुग्न सफल भएको छ । प्रहरीका अनुसार बिरामी भएर उपचारका लागि भर्ना गरिएका बेलासमेत पीडित बालिका अहमदलाई भेट्न अस्पताल पुगेकी थिइन् ।
‘कारागारमा हुँदा बालिकासँग अहमदको नियमित सम्पर्क हुने गरेको खुल्यो । उनलाई भेट्न बालिका जाने गरेकी रहिछन् । अस्पतालमा पनि दुई जनाबीच भेटघाट भएको रहेछ । घटनाको प्रकृति हेर्दा योजना बनाएर र आफन्त एवं परिवारका सदस्यसँग सल्लाह गरेर नै फरार भएजस्तो देखिन्छ । यथार्थ पत्ता लगाउन विभिन्न कोणबाट गम्भीर ढंगले अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
Discussion about this post